पर्वत–बागलुङ जोड्ने ४१५ मिटर लामो झोलुङ्गे पुल निर्माण हुँदै


पर्वत,: पर्वत र बागलुङ जिल्लालाई जोड्नका लागि कालीगण्डकी नदीमाथि नयाँ झोलुङ्गे पुल निर्माण हुने भएको छ। यसअघि बनेका चार पुलपछि यो नदीमाथि बन्ने पाँचौँ झोलुङ्गे पुल हो ।
पर्वतको कुश्माबजार–५ स्थित आनन्द गुम्बादेखि बागलुङ नगरपालिका–१४ नारायणस्थानको कुकुरगाढेसम्म ४१५ मिटर लामो पुल निर्माण हुने भएको हो । यसअघि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बञ्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।
बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रालिसँग गत असारमा ठेक्का सम्झौता भइसकेको र पुल २०८३ साल पुस मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणका लागि आवश्यक आधारभूत संरचना र पूर्वतयारी अध्ययन पनि पूरा भइसकेको खत्रीले जानकारी दिए ।
संघीय सरकारबाट विनियोजन गरिएको रु पाँच करोड २६ लाख ८० हजार लागतमा पुल निर्माण भइरहेको छ । बलेवा, कैया, पैयुँपाटा र कुश्मा क्षेत्रका बासिन्दालाई लक्षित गर्दै स्थानीय आवश्यकताको आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको हो ।
स्थानीयका अनुसार पुल बनेपछि दुर्गम बस्ती सहजै यातायात सञ्जालमा जोडिनेछ भने कालीगण्डकी कोरिडोर आसपासको समथर जमिन प्रयोग गरी व्यापार, व्यवसाय र कृषि उत्पादन विस्तारमा सहयोग पुग्नेछ ।
“विशेषगरी बागलुङ नगरपालिका वडा नं १२, १३ र १४ को मध्य भागमा पर्ने यो पुल गाडीको गन्तव्य बनेर कुश्मा बजारसँग सिधा जोडिने भएकाले निकै महत्त्वपूर्ण छ,” स्थानीय कमल जिसीले भने ।
हाल बलेवाबाट कुश्मा आउन यान्त्रिक पुल प्रयोग गर्दा एकतर्फी भाडा रु ८५ तिर्नुपर्छ भने बञ्जी पुल प्रयोग गर्दा दुईतर्फी यात्राका लागि रु १२० लाग्ने गरेको छ । नयाँ पुल निर्माण भएपछि यात्रु तथा व्यापारीलाई सहज हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
देशभर साधारणतया बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
-
असोज २ गतेसम्म लम्बियो सेयर बजार बन्द
-
सुनको नयाँ रेकर्ड, आज कति पुग्यो मूल्य तोलामा ?
-
पर्वत–बागलुङ जोड्ने ४१५ मिटर लामो झोलुङ्गे पुल निर्माण हुँदै
-
आकाशमा बादलको मेलो, कतै पानीको भेलो
-
राष्ट्रपति पौडेलबाट राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी