म्याग्दीखोलामा ६५ मेगावाटको जलविद्युत् आयोजना निर्माण सुरु
जलसरोकार
म्याग्दी : धवलागिरि गाउँपालिका–४ बगर मा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।
हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ तथा प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ।
आयोजनाका प्रमुख उत्तम पौडेलका अनुसार बगर गाउँदेखि बाँधस्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ। साथै विद्युत्गृहबाट निस्कने पानी व्यवस्थापनका लागि एक हजार १३० मिटर लामो ‘टेलरेस’ सुरुङ निर्माण सुरु गरिएको छ।
म्याग्दी र कुनाबाङ खोलाको दोभानमा निर्माण हुने बाँधबाट पानीलाई ‘डिसेन्डर’ मा सङ्कलन गरी ७१० मिटर पाइपलाइनमार्फत ३ हजार ६ सय मिटर लामो सुरुङमा हालिनेछ। त्यसपछि पुनः ७५० मिटर पाइपलाइनमार्फत ६०७ मिटर उचाइबाट भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ।
‘रन अफ रिभर’ प्रकृतिको आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर प्रेसर टनेल, ५८७ मिटर इनक्लाइन टनेल र ७५७ मिटर पेनस्टक पाइप रहनेछन्। विद्युत्गृहमा तीन वटा टर्बाइन युनिट जडान गरिने योजना छ।
आयोजनाबाट सुक्खायाममा प्रतिघण्टा ११७.८२ र बर्खायाममा २६४.४५ गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
बगर–तातोपानी खण्डको पहाडभित्र ६४० मिटर सुरुङ खनेर भूमिगत विद्युत्गृह निर्माण गरिनेछ। उत्पादन भएको विद्युत् बगरदेखि १६.५ किलोमिटर दूरीमा रहेको डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। यसका लागि १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको छ।
प्रतिमेगावाट करिब २० करोड रुपैयाँका दरले कुल १३ अर्ब लागत अनुमान गरिएको आयोजनाबाट विसं २०८४ चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।
आयोजनाका अनुसार सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चर गत पुसदेखि परिचालन भइसकेको छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल ठेकेदार छनोट प्रक्रियामा रहेका छन्।
मुख्य सुरुङ खन्नुअघि विस्फोटक पदार्थको सुरक्षाका लागि भैँसीखर्क क्षेत्रमा नेपाली सेनाको क्याम्प स्थापना गर्ने तयारी गरिएको आयोजना व्यवस्थापनले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्