म्याग्दीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण सुरु
जलसरोकार
म्याग्दी, : म्याग्दी जिल्लामा हालसम्मकै ठूलो १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाले सोमबारदेखि अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ निर्माणको काम थालेको हो।
आयोजना निर्देशक रमण सिंहका अनुसार चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाअन्तर्गत पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण गरिनेछ। सुरुङ निर्माणका लागि बाँधस्थल, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह क्षेत्रसहित चार स्थानबाट काम अघि बढाउने तयारी गरिएको छ।
उनले मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामास्थित पहिरा थाप्लामा बाँध तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माणको तयारी भइरहेको जानकारी दिए । विद्युत्गृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ।
‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनामा एक किलोमिटर लामो पेनस्टक पाइपलाइन रहनेछ भने विद्युत्गृहदेखि आउटलेटसम्मको उचाइ ४८० मिटर हुनेछ। आयोजनाका लागि प्रवर्द्धक कम्पनी, ठेकेदार तथा नेपाली सेनाका कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवन निर्माण अन्तिम चरणमा पुगेका छन्।
आयोजना स्थलसम्म पहुँच विस्तार गर्न आठ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ। साथै, गाडपार क्षेत्रमा बेलिब्रिज जडानको तयारी भइरहेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न घरापदेखि दानासम्म २२० केभी क्षमताको करिब एक किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ।
करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए । प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत शेयर लगानीको व्यवस्था पनि गरिएको उनकाे भनाइ छ।
आयोजना निर्माणको शुभारम्भ अवसरमा अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामी, स्थानीय जनप्रतिनिधि, अगुवा, प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा धार्मिक विधिअनुसार पूजाआजा गरिएको थियो।
वडाध्यक्ष फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लामा निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको बताए । उनका अनुसार नारच्याङ क्षेत्रका नदीहरूमा हालसम्म १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन्।
तीमध्ये ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्तीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ तथा ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना सञ्चालनमा छन्। साथै, नारच्याङ क्षेत्रको कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन रहेको छ भने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणको तयारी भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य