सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

लमजुङको १३.४२४ मेगावाटको मिदिम-१ जलविद्युत् आयोजनाको निर्माण प्रगति सन्तोषजनक

जलसरोकार
मंगलबार, असार ०९, २०८३ | १५:०२:३२ बजे

काठमाडौं : लमजुङ जिल्लामा निर्माणाधीन १३.४२४ मेगावाट क्षमताको मिदिम-१ जलविद्युत् आयोजनाको निर्माण कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको पाइएको छ।

आयोजनाको प्राविधिक ऋणदाता परामर्शदाता (Technical Consultant to Lead Lender) का रूपमा कार्यरत टीएसी हाइड्रो कन्सल्टेन्सी प्रालिले हालै आयोजना स्थलको निरीक्षण तथा प्रगति मूल्याङ्कन गरेको हो। कम्पनीले प्रमुख ऋणदाता लक्ष्मी सनराइज बैंक लिमिटेडको तर्फबाट आयोजना प्रगति अनुगमन र प्राविधिक बिल प्रमाणीकरण (Technical Bill Vetting) को काम गरिरहेको छ।

गण्डकी प्रदेशको लमजुङ जिल्लामा निर्माण भइरहेको यो नदी प्रवाहमा आधारित (Run-of-River) आयोजनाले ३४७ मिटर ग्रस हेड उपयोग गर्नेछ।

निरीक्षणका क्रममा आयोजनाको निर्माण प्रगति स्वीकृत कार्यतालिकाअनुसार भइरहेको, निर्माण सामग्रीको गुणस्तर, कार्यसम्पादन तथा निर्माण व्यवसायीले पेश गरेका अन्तरिम भुक्तानी दाबी (IPC Bill) हरूको समेत परीक्षण गरिएको कम्पनीले जनाएको छ।

निरीक्षणबाट बाँधस्थलको तल्लो भागको वीयर (Downstream Weir), बाढी सुरक्षा पर्खाल (Flood Wall) को अधिकांश भाग, इन्टेक तथा ग्राभेल ट्र्याप क्षेत्रको उत्खनन, साथै राफ्ट कंक्रिटका काम सम्पन्न भएको पुष्टि भएको छ।

त्यसैगरी करिब ६ किलोमिटर लामो पाइपलाइन मार्गमा उत्खनन, पाइप बिछ्याउने तथा जडान कार्य जारी रहेको छ। हालसम्म ४८ मिटर पाइप जडान सम्पन्न भइसकेको छ। विद्युत्गृह (Powerhouse) तर्फ मेसिन फाउन्डेसन निर्माण सम्पन्न भइसकेको छ भने सियर वाल (Shear Wall) को रड बाँध्ने (Reinforcement) कार्य भइरहेको छ।

आयोजनाको समग्र निर्माण प्रगति सन्तोषजनक रहेको तथा प्रमुख संरचनाहरूमा उल्लेखनीय प्रगति देखिएको टीएसी हाइड्रो कन्सल्टेन्सीले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, असार ०९, २०८३ | १५:०२:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया