बारा र पर्साका २१२ उद्योगमा प्राधिकरणको स्मार्ट मिटर जडान
जलसरोकार
पर्सा – नेपाल विद्युत प्राधिकरणले पर्सा र बारा जिल्लाका २१२ उद्योगमा स्मार्ट विद्युत मिटर जडान गरेको छ । प्राधिकरणका स्थानीय वितरण केन्द्रले पुरानो ‘टिओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरेको हो । प्राधिकरणले ११ किलो भोल्ट वा सोभन्दा बढी भोल्टेज ‘सप्लाइ’ लिएका ‘एचटी मिटरिङ युनिट’ जडित (ट्रान्सफर्मर) जडित क्षमता दुई सय केभीदेखि २५ हजार किलो भोल्ट एम्पेरेस क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरेको छ।
प्राधिकरणका अनुसार उद्योगका ग्राहकको टिओडी मिटरलाई ‘०.२ एस एकुरेसी क्लास’को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर निःशुल्क जडान गरेको हो । विद्युत् प्राधिकरणको वीरगञ्ज वितरण केन्द्र प्रमुख अवधेशकुमार दुवेले केन्द्रीय कार्यालयको कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका उद्योगमा निःशुल्क स्मार्ट मिटर जडान गरेको बताए ।
'स्मार्ट इनर्जी मिटर जडान गरेका उद्योगमा मिटर रिडिङका लागि जानु पर्दैन', उनले भने, ‘विगतमा जस्तै टिओडी मिटर डाउनलोड गरिरहनुपर्ने झन्झट पनि हुँदैन । प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको सर्भरमा स्मार्ट इनर्जी मिटर जडान भएको उद्योगले खपत गरेको विद्युत्को अभिलेख रहन्छ । हामीले पनि अनलाइन सिस्टमबाटै रेकर्ड हेरेर बिलिङ गर्न सक्नेछौँ ।’
प्राधिकरणले एउटा उद्योगमा ७२ हजार रुपैयाँ पर्ने स्मार्ट विद्युत मिटर जडान गरेको जनाएको छ । कार्यालयका अनुसार ती उद्योगमा सो मिटर जडान गर्न एक करोड ५२ लाख ६४ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
उद्योगीले महिनाको अन्त्य भएको दिनको मध्यरातमा नै बिल प्राप्त गर्न सक्नेछ । 'कुन उद्योगमा कति विद्युत् खपत भइरहेको छ । कुनमा खपत भइरहेको छैनलगायत विवरण पनि यो मिटरबाट थाहा हु्न्छ', दुवेले भने, 'यसले विद्युत्को माग र आपूर्तिबीच पनि तालमेल गराउन निकै ठूलो सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ ।' कार्यालय प्रमुख दुवेले मिटर जडान गरेसँगै मिटर रिडिङ गर्ने दुईजना जनशक्तिको भार पनि कम भएको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह