सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मातातीर्थ-स्युचाटार प्रसारण लाइनको तार फेरिँदै, दुई दिन विद्युत् आपूर्तिमा असर पर्न सक्ने

पुरानो तार हटाएर उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गरिँदै, असोज २४ र २५ गते बिहान ९ देखि साँझ ५ बजेसम्म लाइन बन्द हुने

जलसरोकार
शुक्रबार, असोज २३, २०८३ | १५:३२:२१ बजे

काठमाडौं : मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणका लागि पुरानो तार परिवर्तन गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोज २४ र २५ गते प्रसारण लाइन बन्द गरेर उच्च क्षमताको नयाँ तार जडान गर्ने भएकाले काठमाडौं उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ-स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर हटाएर नयाँ कन्डक्टर जडान गर्न लागेको हो ।

उक्त कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गरिनेछ । यस अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

विद्युत् वहन क्षमता बढ्ने अपेक्षा

प्रसारण लाइनमा रहेको कम क्षमताको पुरानो कन्डक्टरको सट्टा उच्च क्षमताको एचटिएलएस कन्डक्टर जडान गर्न लागिएको हो । डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटमा करिब ४०० मिटर कन्डक्टर परिवर्तन गर्न बाँकी रहेको छ ।

तार परिवर्तनको काम सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने अपेक्षा गरिएको छ । यसबाट बढ्दो विद्युत् माग व्यवस्थापन गर्न तथा विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

मौसमले कार्यतालिका प्रभावित हुन सक्ने

निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको प्राधिकरणले जनाएको छ । तर, मौसम प्रतिकूल भएमा कामको कार्यतालिका परिवर्तन हुन सक्नेछ ।

प्राविधिक कामका कारण ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २३, २०८३ | १५:३२:२१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया