दरमखोला हाइड्रोपावरबाट व्यावसायिक उत्पादन सुरु
जलसरोकार
काठमाडौं – बागलुङमा अवस्थित दरमखोला हाइड्रोपावरले आइतबारदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको उक्त आयोजना लामो समयको प्रतिक्षापछि नियमित उत्पादनमा आएको हो ।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडद्वारा सञ्चालनमा आएको ९.६ मेगावाट क्षमताको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मै निर्माण गर्ने योजना बने पनि विभिन्न कारणले विसं २०७७ देखि मात्र काम थालिएको हो ।
गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम र मनेवापाटामा विद्युत्गृह बनाएर सञ्चालन गरिएको परियोजनाबारे जानकारी दिँदै इञ्जिनियर मिथिलेस चौधरीले बर्खायाममा ९.६ मेगावाट उत्पादन गर्न सकिने भए पनि हिउँदयाममा पानीको अभावले करिब ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको बताए । विद्युत्गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सबस्टेसनमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा परियोजना जडान गरिएको हो ।
हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेडले लिएका थिए । निर्माणमा आएका विभिन्न अवरोधले परियोजना ढिलो सम्पन्न भएको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए। प्रारम्भिक इजाजत पाएको गोर्खा हाइड्रोपावर कम्पनीले काम नगरेपछि आफूहरूले योजना अघि बढाएको उनले स्पष्ट पारे ।
परियोजना निर्माणमा दुई अर्बभन्दा बढी लगानी भएको अध्यक्ष पुनका अनुसार हाइड्रोपावर सञ्चालनमा आएसँगै बागलुङका विकट बस्तीहरूमा विद्युत् पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
उनका अनुसार, “दरमखोला बागलुङमा अहिलेसम्म निर्माण भएका मध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो । विभिन्न चुनौतीका कारण ढिलो भए पनि अब परियोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्