सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

दरमखोला हाइड्रोपावरबाट व्यावसायिक उत्पादन सुरु

जलसरोकार
मंगलबार, मंसिर ०२, २०८२ | १३:३६:४८ बजे

 

काठमाडौं – बागलुङमा अवस्थित दरमखोला हाइड्रोपावरले आइतबारदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको उक्त आयोजना लामो समयको प्रतिक्षापछि नियमित उत्पादनमा आएको हो ।

दरमखोला हाइड्रो इनर्जी लिमिटेडद्वारा सञ्चालनमा आएको ९.६ मेगावाट क्षमताको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मै निर्माण गर्ने योजना बने पनि विभिन्न कारणले विसं २०७७ देखि मात्र काम थालिएको हो ।

गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम र मनेवापाटामा विद्युत्गृह बनाएर सञ्चालन गरिएको परियोजनाबारे जानकारी दिँदै इञ्जिनियर मिथिलेस चौधरीले बर्खायाममा ९.६ मेगावाट उत्पादन गर्न सकिने भए पनि हिउँदयाममा पानीको अभावले करिब ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको बताए । विद्युत्गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सबस्टेसनमार्फत नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा परियोजना जडान गरिएको हो ।

हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेडले लिएका थिए । निर्माणमा आएका विभिन्न अवरोधले परियोजना ढिलो सम्पन्न भएको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए। प्रारम्भिक इजाजत पाएको गोर्खा हाइड्रोपावर कम्पनीले काम नगरेपछि आफूहरूले योजना अघि बढाएको उनले स्पष्ट पारे ।

परियोजना निर्माणमा दुई अर्बभन्दा बढी लगानी भएको अध्यक्ष पुनका अनुसार हाइड्रोपावर सञ्चालनमा आएसँगै बागलुङका विकट बस्तीहरूमा विद्युत् पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।

उनका अनुसार, “दरमखोला बागलुङमा अहिलेसम्म निर्माण भएका मध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो । विभिन्न चुनौतीका कारण ढिलो भए पनि अब परियोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ ।”

प्रकाशित मिति : मंगलबार, मंसिर ०२, २०८२ | १३:३६:४८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया