ग्लोबल आइएमई बैंक नबिल बैंक दीपक खड्का मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

जलसरोकार
आइतबार, असार ०८, २०८२ | १७:४२:४४ बजे

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार: अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै महासंघ अध्यक्ष ढकालले नेपालले आफ्नो आर्थिक कूटनीतिलाई बढाउदै विकास र सम्मृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने उल्लेख गरे ।
‘सरकार र अनररी कन्सुलर कर्पस् नेपालबिच विश्वास र साझेदारीको सहकार्य आवश्यक रहेको छ । राज्यले अनररी कन्सुलर कर्पस्लाई अवैतनिक र औपचारिक दूतको रुपमा मात्र होइन आर्थिक कूटनीतिज्ञको रूपमा व्यवहार र उपयोग गर्नुपर्छ,’ अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) का डिनसमेत  रहेका ढकालले भने  ।
ढकालका अनुसार वाणिज्यदूतहरु व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिल्यै सक्रिय रहेका छन् र उनीहरूले सरकारको खर्च बिना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रवर्द्धन गरिरहेका छन् ।


उनले वाणिज्यदूतहरुलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलको रूपमा उपयोग गर्न सकिने उल्लेख गरे । 
त्यस्तै, भूकम्प, बाढी र अन्य संकटको बेला वाणिज्यदूतहरुले प्रतिनिधित्व गर्ने देशहरूले नेपाललाई सहयोग उल्लेख गर्दै यसले वाणिज्यदूहरुमार्फत उनीहरुले प्रतिनिधित्व गर्ने देशहरुसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने बताए ।

परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसले सरकार, अनररी कन्सुलर कर्पस् नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबिच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
'आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्राण्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ,” उनले भने ।
निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादनको ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गरे ।
भारत, चीन र यूएई लगायतका मुलुकमा प्रधानमन्त्रीको भ्रमणको बेला आयोजना गरिएका व्यापार सम्मेलनहरूले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रुपमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्न सकिने विश्वास व्यक्त गरे 

प्रकाशित मिति : आइतबार, असार ०८, २०८२ | १७:४२:४४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया