पोखरा वितरण केन्द्रका तत्कालीन प्रमुख राजीव सिंहसहित पाँचजनाविरुद्ध १३ लाख ९३ हजारको भ्रष्टाचार मुद्दा दायर
जलसरोकार
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा भण्डारण गरिएको तामाको तार हराएको प्रकरणमा केन्द्रका तत्कालीन प्रमुख राजीव कुमार सिंहसहित पाँचजनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपैयाँ ३ पैसाको बिगो कायम गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टस्थित स्टोरबाट ७० एमएम स्क्वायरका १७४ मिटर र १२० एमएम स्क्वायरका ७४६ मिटर तामाको तार हराएको उजुरी परेपछि अनुसन्धान गरिएको हो । अनुसन्धानबाट उक्त तार योजनाबद्ध रूपमा हटाई सार्वजनिक सम्पत्तिमा रु. १३,९३,६०३.०३ बराबरको हानि–नोक्सानी पुर्याइएको पुष्टि भई सोही रकमलाई बिगो कायम गरिएको अख्तियारको निष्कर्ष छ ।
अख्तियारले तत्कालीन केन्द्र प्रमुख सिंह, सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, सुरक्षा गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमाल तथा सम्बन्धित सुरक्षा सेवा प्रदायक कम्पनीका कर्मचारीहरूबीच मिलेमतो रहेको ठहर गरेको छ । उनीहरूले आफ्नो जिम्मेवारी हुँदाहुँदै सरकारी सम्पत्तिको संरक्षण नगरी गैरकानुनी लाभका लागि तामाको तार बाहिर लैजान सहयोग गरेको अभियोग लगाइएको छ ।
आयोगले प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुल उपर मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य