अध्यक्ष ढकाललाई ‘मायाको चिनो’ चोयाको डालीभरि मास
जलसरोकार
काठमाडौं: धादिङको रैथाने उत्पादन कालो मास बिहीबार नीलकण्ठ नगरपालिकामा आयोजित एक समारोहको केन्द्रबिन्दु बन्न पुग्यो । चोयाले बुनेको चिटिक्कको डालीमा राखिएको धादिङको प्रसिद्ध कालो मास अतिथिलाई उपहारस्वरूप प्रदान गरेपछि ‘डालीभरि मास’ कार्यक्रमस्थलमा मात्र होइन, जिल्लाभर नै चर्चा चल्यो ।
धादिङ जिल्ला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ३२ औँ वार्षिक साधारणसभा कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई ‘मायाको चिनो’ स्वरूप प्रदान गरिएको मासले उपस्थित सबैको ध्यान खिच्यो । कार्यक्रमको अन्त्यतिर अतिथिहरूलाई विदाइ गर्दै जिल्ला सङ्घका अध्यक्ष रामकुमार डल्लाकोटी स्वयं डालीभरि मास लिएर अघि बढेपछि उपहारको स्वरूपबारे चासो झन् बढेको थियो ।
धादिङको मास विशेषगरी मलेखु क्षेत्रको मुख्य पहिचान मानिन्छ । मलेखु हुँदै काठमाडौँ भित्रिने–निस्कने यात्रुहरूका लागि यहाँको मास र गेडागुडी विशेष कोशेलीका रूपमा लोकप्रिय छ । जिल्लामै ठूलो मात्रामा उत्पादन हुने धादिङको मास गुणस्तर र स्वादका कारण देशभर चिनिएको छ ।
अध्यक्ष डल्लाकोटीका अनुसार यस पटक आयातित सजावटी वस्तुको सट्टा रैथाने उत्पादन उपहार स्वरूप दिने निर्णय स्थानीय उत्पादन प्रवर्धनका उद्देश्यले गरिएको हो । उद्योगी व्यवसायीहरूको देशव्यापी संगठनका अध्यक्षमार्फत् धादिङको मासलाई अझ व्यापक पहिचान दिलाउने चाहनासमेत यसमा जोडिएको उनले बताए ।
उपहार स्वीकार गर्दै अध्यक्ष ढकालले स्वदेशी, रैथाने र स्थानीय उत्पादन प्रवर्धनमा आफू निरन्तर लागिपरेको बताउँदै यस्ता उपहारले स्थानीय उद्योगलाई आत्मविश्वास दिलाउने बताए ।
उनले थपे, “चोयाको डाली प्लास्टिकका झोलाको विकल्प बन्न सक्छ । नेपालमा स्थानीय बाँस, निगालो र चोयाबाट बन्ने सामग्रीहरू प्लास्टिकले विस्थापित गरिरहेकै बेला यस्तो उपहारले संरक्षण र पुनःप्रयोग दुवैको सन्देश दिन्छ ।”
यसअघि पनि विभिन्न जिल्लाका उद्योगी–व्यवसायीहरूले ढकाललाई स्थानीय उत्पादनकै उपहार प्रदान गर्दै आएका छन् । धादिङ उद्योग वाणिज्य सङ्घद्वारा दिएको ‘डालीभरि मास’ उपहारले भने सामाजिक सञ्जालदेखि स्थानीय मिडियासम्म छुट्टै चर्चा पाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
गृहमन्त्री सुदन गुरुङको प्रष्टिकरण: ‘बिचौलिया भट्टसँग जोडिएको आरोप अनुमानमा आधारित’
-
बुढीगण्डकी आयोजनालाई अघि बढाउने सरकारकाे पहल सकारात्मक : डा. भट्टराई
-
कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६८ हजार लगानीकर्तालाई शेयर
-
घट्यो सुन र चाँदीको मुल्य, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन मूल्य वृद्धि फिर्ता लिन कुलमान उनेपाका अध्यक्ष घिसिङको सरकारसँग माग