दुर्गम गाउँ लाप्राकमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा सुरु
जलसरोकार
गोरखा: उत्तरी गोरखाको दुर्गम गाउँ लाप्राकमा अन्ततः केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा सुरु भएको छ ।
आज एक औपचारिक समारोहका क्रममा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख विक्रमकुमार अमात्य तथा धार्चे–४ का वडाध्यक्ष किसान गुरुङले वडा कार्यालयमा बत्ती बालेर सेवा शुभारम्भ गरेका हुन् ।
यससँगै लाप्राकको पुरानो बस्ती तथा एनआरएनएले निर्माण गरेको गुप्सीबस्ती दुवैमा केन्द्रीय प्रसारण लाइनबाट बत्ती पुगेको छ । नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रबाट हालसम्मकै सबैभन्दा टाढाको बस्तीमा विद्युत् पु¥याउन सफल भएको केन्द्र प्रमुख चिजबहादुर गुरुङले बताए ।
यसअघिसम्म लाप्राकमा २० किलोवाट र २६ किलोवाटका दुई लघु जलविद्युत् योजना सञ्चालनमा रहेका थिए । अब सिरानचोक गाउँपालिका–२, थालाजुङको ठूलोस्वाँरा सवस्टेशनबाट बारपाक हुँदै ११ केभी क्षमताको लाइन विस्तार भई लाप्राकमा विद्युत् पुगेको हो । सेवा प्रवाहका लागि गुप्सीपाखामा १०० केभिए र पुरानो बस्तीमा ५०–५० केभिए क्षमताका तीन ट्रान्सफर्मर जडान गरिएको गोरखा वितरण केन्द्रका प्रमुख गुरुङले जानकारी दिए ।
केन्द्रीय लाइन विस्तारसँगै अब गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको मिनरल वाटर प्रशोधन केन्द्र सञ्चालन गर्न सकिने वडाध्यक्ष किसान गुरुङले बताए । उनका अनुसार विद्युत्को अभावका कारण कुटानी–पिसानी मिल तथा स–मिल चलाउन कठिनाइ थिए, तर अब यी सेवा सहज रूपमा सञ्चालन गर्न सकिने भएको छ ।
गुप्सीबस्ती र पुरानो बस्तीका गरी सात सयभन्दा बढी घरधुरीले केन्द्रीय प्रसारण लाइनबाट विद्युत् सेवा पाउनेछन् । प्रायः चार वर्षअघि सुरु भएको प्रसारण लाइन विस्तारको काम सम्पन्न भएसँगै बिहीबारसम्म ८० घरधुरीमा मिटरबक्स जडान भइसकेको जानकारी दिइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सर्ज ट्याङ्क भएका जलविद्युत् आयोजनामा आपत्कालीन उद्धारको वैकल्पिक बाटो खोजौँ : भट्टराई
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै