बाँकेमा विद्युत् महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ काटियाे,पाँच महिनामै असुल्यो ५ करोड बक्यौता
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नेपालगञ्ज वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नतिर्ने पाँच हजारभन्दा बढी सेवाग्राहीको लाइन विच्छेद गरेको छ । केन्द्रले पछिल्ला पाँच महिनामा सञ्चालन गरेको बक्यौता असुली अभियानअन्तर्गत करिब पाँच हजार ५०० ग्राहकको लाइन काटिएको जनाएको हो ।
नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार लाइन विच्छेद गरिएका ग्राहकबाट हालसम्म करिब ५ करोड रुपैयाँ बक्यौता असुल गरिएको छ । उनले लाइन काटिएका ग्राहकको कुल बक्यौता रकम करिब ६ करोड ३० लाख रुपैयाँ पुगेको जानकारी दिए ।
“पछिल्ला पाँच महिनामा करिब साढे पाँच हजार ग्राहकको लाइन काटिएको छ । तीमध्ये करिब चार हजार ५०० ग्राहकले बक्यौता रकम बुझाएर पुनः लाइन जडान गरेका छन्,” मिश्रले भने, ।
प्राधिकरणले लामो समयसम्म महसुल नतिर्ने ग्राहकविरुद्ध बक्यौता असुली अभियानलाई निरन्तरता दिएको छ । विद्युत् आपूर्तिलाई व्यवस्थित बनाउन तथा अनियमितता नियन्त्रण गर्न अनुगमनलाई समेत तीव्र पारिएको केन्द्रले जनाएको छ ।
कानुनी व्यवस्थाअनुसार विद्युत् महसुल ६० दिनभित्र बुझाउनुपर्ने हुन्छ । तोकिएको अवधिभित्र बिल भुक्तानी नगर्ने ग्राहकविरुद्ध अब स्वचालित रूपमा कारबाही प्रक्रिया अघि बढाइने वितरण केन्द्रले जनाएको छ ।
बाँके जिल्लामा विद्युत् चुहावट नियन्त्रण तथा सेवा सुधारका लागि केन्द्रले मिटर अनुगमन, हुकिङ नियन्त्रण र मिटरमा गडबडी गर्ने ग्राहकमाथि सार्वजनिक बिदाका दिनसमेत स्थलगत निरीक्षण गरिरहेको छ । सिँचाइ, घरेलु तथा अन्य ग्राहकको सेवा अवस्थाबारे पनि नियमित अनुगमन भइरहेको जनाइएको छ ।
केन्द्रका अनुसार पछिल्ला महिनामा सञ्चालन गरिएको सेवा सुधार तथा चुहावट नियन्त्रण अभियानका कारण बाँकेमा विद्युत् आपूर्तिमा सुधार देखिएको छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेको र गर्मीयाममा विद्युत् आपूर्ति अवरुद्ध नहुने दाबी गरिएको छ ।
यस्तै, नेपालगञ्ज वितरण केन्द्रको नो–लाइट शाखामार्फत विभिन्न महत्वपूर्ण स्थानमा नाङ्गो तार हटाएर केबुल विस्तारको काम भइरहेको छ । नियमित मर्मत तथा अनुगमनका कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण र सेवा प्रवाहमा थप सुधार आएको केन्द्र प्रमुख मिश्रले बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य