विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान
जलसरोकार
काठमाडौँ : सरकारले विद्युत नियमन आयोगको रिक्त रहेको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको 'अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले आज एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।
आयोगमा एक जना अध्यक्ष र एक जना महिलासहित कुल चार जना सदस्य पद रिक्त रहेका छन् । विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम तोकिएको न्यूनतम योग्यता र अनुभव पूरा भएका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् आगामी जेठ २१ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।
आवेदन प्रक्रिया र आवश्यक कागजातहरू
इच्छुक उम्मेदवारहरूले मन्त्रालयको विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखामा आवेदन बुझाउनुपर्नेछ । आवेदनका साथमा शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रतिलिपि, वैयक्तिक विवरण (CV), कार्य अनुभव पुष्टि हुने कागजात र स्वघोषणा पत्र संलग्न हुनुपर्नेछ । यसका साथै, उम्मेदवारले आयोगलाई मार्गनिर्देशन गर्ने गरी पाँच हजार शब्दमा नबढ्ने गरी तयार पारिएको 'व्यावसायिक कार्ययोजना' (Business Action Plan) को ३ प्रति सिलबन्दी खाममा बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।
दरखास्त दस्तुर बापत राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारस्थित राजस्व खातामा ३ हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर समेत पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
छनोट प्रक्रिया
प्राप्त आवेदनहरूमध्ये न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिनेछ । स्वीकृत उम्मेदवारहरूले बुझाएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गरिने र त्यसमा कम्तीमा ५० प्रतिशत अङ्क प्राप्त गर्ने उम्मेदवारहरूलाई मात्र कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरिने समितिले जनाएको छ ।
समितिका अनुसार सदस्य पदका लागि उम्मेदवारहरूको शैक्षिक योग्यताको विषय विधा फरक-फरक हुने गरी योग्यताक्रमका आधारमा छनोट तथा सिफारिस गरिनेछ । उम्मेदवारहरूले आवेदन दिँदा आफूले दाबी गर्न चाहेको विशिष्टीकृत क्षेत्र अनिवार्य रूपमा खुलाउनुपर्ने जनाइएकाे छ ।
यस नियुक्ति सम्बन्धी थप विवरण तथा आवेदन फाराम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आधिकारिक वेबसाइट (moewri.gov.np) बाट डाउनलोड गर्न सकिने मन्त्रालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य