जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जा मन्त्रीले कुलमानलाई बाइपास गर्दै सहसचिवलाई प्राधिकरणको बैठक डाँक्न लगाए, पछि आफैले स्थगित गराए

जलसरोकार
बुधबार, असोज २३, २०८१ | १०:३६:१७ बजे

काठमाडौं : ऊर्जामन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयका सहसचिव मार्फत आज बिहान ११ बजे मन्त्रालयमा बोलाएको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक आफैले स्थगित गराएका छन् ।
नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ विपरीत ऊर्जा मन्त्री खड्काले मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीमार्फत प्राधिकरणको सञ्चालक समिति बैठक बोलाउन लगाएका थिए । सहसचिव मरासिनीेले हिजो बेलुका प्राधिकरण सञ्चालक समितिका तमाम सदस्यहरुलाई मोबाइल मेसेजमार्फत बैठक हुने जानकारी गराएको सञ्चालक समितिका एक सदस्यले जलसरोकारलाई बताए ।
ऊर्जा मन्त्रीमा खड्का आएदेखि प्राधिकरणका एकाधबाहेक सञ्चालक समितिको बैठक बस्न सकेको छैन । ऐनअनुसार प्राधिकरण सञ्चालक समिति बैठक सदस्य सचिव एवं प्राधिकरणका कार्यकारी निर्देशकले बोलाउनुपर्छ । 
ट्रंक तथा डेडिकेटेड लाइन लिएर महसुल नतिर्ने उद्योगको लाइन काटेपछि पैसा नतिर्ने व्यापारीका पक्षमा उभिएका मन्त्री खड्का कार्यकारी निर्देशक कुलमान घिसिङसँग सन्तुष्ट छैनन् ।
उनै सहसचिव मरासिनीले आज बिहान साढे नौ बजे प्राधिकरणका सञ्चालक समितिका सदस्यहरुलाई मोबाइल मेसेजबाट “मन्त्रीज्यूको कार्यव्यस्तताका कारण बैठक हाललाई स्थगित गर्न निर्देशन भएको छ” भन्दै सन्देश पठाएका छन् ।
गत असोज १० देखि १२ गतेसम्म परेको अबिरल वर्षाका कारण प्राधिकरणका १३२ केभीका प्रसारण लाइन ढलेपछि तत्काल बैठक राखी छिटो छरितो तवरबाट निर्णय गर्नमा उदासीन देखिएका मन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई असहयोग गर्दै आएका छन् ।
उनै मन्त्री खड्काले अस्ति सोमबार प्रधानमन्त्रीले देशको विद्युत् जडित क्षमता २८५०० मेगावाट पुर्याउने कार्ययोजनामा छलफल गर्न मुख्य जिम्मेवार निकाय विद्युत् प्राधिकरणलाई सहभागी गराएनन् । 
माओवादी सरकारले गत २०८० भदौमा तयार पारेको विद्युत् विकास मार्गचित्र तथा कार्ययोजना ओली सरकारले अझै पारित गरेको छैन ।

 

प्रकाशित मिति : बुधबार, असोज २३, २०८१ | १०:३६:१७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया