बीपीसीले प्यूठानमा सञ्चालनमा ल्यायो ५० किलोवाटको ग्रीन हाइड्रोजन पाइलट परियोजना
जलसरोकार
काठमाडौं: नेपालमा हरित हाइड्रोजन उत्पादन र प्रयोगको सम्भावनाबारे औपचारिक अभ्यास सुरु भएको छ। बुटबल पावर कम्पनी (बीपीसी) ले प्युठानको दारीमचौरस्थित आफ्नो १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् आयोजना परिसरमा ५० किलोवाट क्षमताको ‘ग्रीन हाइड्रोजन पाइलट परियोजना’ उद्घाटन गरेको हो।
बीपीसीले सोमबार आयोजना उद्घाटन गर्दै यसलाई नेपालमा भविष्यको स्वच्छ ऊर्जा समाधानका रूपमा हरित हाइड्रोजनको सम्भावना अध्ययन गर्ने प्रारम्भिक कदमका रूपमा व्याख्या गरेको छ। परियोजनामा विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारअन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (FCDO) मार्फत यूके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग रहेको छ।
यो पाइलट परियोजना बीपीसीको जलविद्युत् आयोजनाबाट उत्पादित नवीकरणीय विद्युत् प्रयोग गरी ‘इलेक्ट्रोलाइसिस’ प्रक्रियाबाट हरित हाइड्रोजन उत्पादन गर्ने उद्देश्यले निर्माण गरिएको हो। इलेक्ट्रोलाइसिस प्रविधिबाट पानीलाई विद्युत्को सहायताले हाइड्रोजन र अक्सिजनमा विभाजन गरिन्छ। नवीकरणीय स्रोतबाट प्राप्त विद्युत् प्रयोग गरी उत्पादन गरिने भएकाले यसलाई ‘ग्रीन हाइड्रोजन’ भनिन्छ।
बीपीसीका अनुसार परियोजनामा जडान गरिएको ५० किलोवाटको ‘अल्कलाइन इलेक्ट्रोलाइजर’ प्रणालीले ९९.९९ प्रतिशत शुद्धतायुक्त हाइड्रोजन उत्पादन गर्न सक्छ। उत्पादन गरिएको हाइड्रोजनलाई १५० बार दबाबमा सिलिन्डरमा कम्प्रेस गरी भण्डारण गरिनेछ, जसले विभिन्न सम्भावित प्रयोगहरूको परीक्षण र मूल्यांकन गर्न सहयोग पुर्याउने कम्पनीले जनाएको छ।
परियोजनाको ईपीसी (Engineering, Procurement and Construction) ठेकेदार चिनियाँ कम्पनी CPU Hydrogen Power Technology Co. Ltd. रहेको छ। आयोजना १३ अप्रिल २०२६ मा औपचारिक रूपमा ‘कमिसन’ गरिएको थियो भने सोही दिन पहिलो हाइड्रोजन सिलिन्डर सफलतापूर्वक भरिएको बीपीसीले जनाएको छ।
उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, प्युठानका स्थानीय तहका जनप्रतिनिधि, बेलायत सरकारको एफसीडीओ, World Bank, प्युठानका प्रमुख जिल्ला अधिकारी, नेपाल विद्युत् प्राधिकरण, बीपीसी तथा ऊर्जा क्षेत्रका अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
विश्वभर हरित हाइड्रोजनलाई कम-कार्बन ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्वपूर्ण माध्यमका रूपमा हेरिन थालेको छ। प्रत्यक्ष विद्युतीकरण कठिन हुने क्षेत्र (जस्तै यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारण) मा हरित हाइड्रोजन उपयोगी विकल्प बन्न सक्ने अन्तर्राष्ट्रिय अभ्यासले देखाएको छ।
बीपीसीले यो परियोजनाबाट हाइड्रोजन उत्पादन, कम्प्रेसन, भण्डारण, सुरक्षा व्यवस्थापन, सञ्चालन, प्राविधिक कार्यसम्पादन, आर्थिक सम्भाव्यता तथा नेपालमा यसको सम्भावित उपयोगबारे महत्वपूर्ण अनुभव र तथ्य प्राप्त हुने जनाएको छ। कम्पनीका प्रतिनिधिहरूले परियोजनालाई नवीकरणीय ऊर्जा नवप्रवर्तन र स्वच्छ ऊर्जा प्रविधिमा व्यवहारिक प्रयोग गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको बताएका छन्।
नेपालमा प्रचुर जलविद्युत् सम्भावना रहेको सन्दर्भमा अतिरिक्त नवीकरणीय विद्युत्लाई हरित हाइड्रोजनमा रूपान्तरण गरी घरेलु प्रयोग, औद्योगिक उपयोग, यातायात, दीर्घकालीन ऊर्जा भण्डारण तथा सम्भावित क्षेत्रीय बजारसम्म उपयोग गर्न सकिने सम्भावनाबारे अध्ययन भइरहेको छ।
यसैबीच नेपाल सरकारले हेटौंडामा २.५ मेगावाट क्षमताको अर्को हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने योजना बनाएको छ। यसले नेपालमा हरित हाइड्रोजनप्रतिको सरकारी तथा निजी क्षेत्रको चासो क्रमशः बढ्दै गएको संकेत गरेको छ।
बीपीसीले यो परियोजनालाई नेपालमा हरित हाइड्रोजनको व्यावसायिक सम्भाव्यता, सुरक्षा मापदण्ड, नियामकीय संरचना तथा स्वच्छ ऊर्जा प्रणालीमा यसको एकीकरणबारे भविष्यका निर्णयका लागि आधार तयार गर्ने पहिलो व्यवहारिक कदमका रूपमा लिएको जनाएको छ।
छ दशकभन्दा बढी समयदेखि जलविद्युत् विकास, उत्पादन, प्रसारण तथा वितरण क्षेत्रमा सक्रिय बीपीसीले स्वच्छ, भरपर्दो र दीर्घकालीन ऊर्जा समाधानमार्फत नेपालको दिगो ऊर्जा भविष्य निर्माणमा योगदान पुर्याउँदै आएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र अर्थमन्त्रीलाई विवादित बनाउने उद्देश्यले तथ्य र प्रमाणबिना अनावश्यक चर्चा : अर्थमन्त्री वाग्ले
-
करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित : अर्थमन्त्री वाग्ले
-
निर्माण अघि नबढाउने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न उच्चस्तरीय समितिको सिफारिस
-
देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
-
बीपीसीले प्यूठानमा सञ्चालनमा ल्यायो ५० किलोवाटको ग्रीन हाइड्रोजन पाइलट परियोजना
-
नेप्से लगातार चौथो दिन घट्यो, कारोबार रकम ६ अर्ब ४४ करोड नाघ्यो