अपर म्याग्दी जलविद्युत् आयोजनाको इन्क्लाइन्ड सर्ज टनेलमा ‘ब्रेकथ्रु’,
जलसरोकार
काठमाडाैं : म्याग्दीमा निर्माणाधीन ४६.२५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणका क्रममा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। आयोजनाअन्तर्गत निर्माण भइरहेको ३८८.०३४ मिटर लामो इन्क्लाइन्ड सर्ज टनेल (Inclined Surge Tunnel) को सफल ‘ब्रेकथ्रु’ सम्पन्न भएको हो।
उक्त उपलब्धिको अवसरमा असार १६ गते आयोजना स्थलमा ब्रेकथ्रु समारोह आयोजना गरिएको थियो। आयोजनाको निर्माण कार्य आरएससी–आरजे जेभी (RSC–RJ JV) ले गरिरहेको छ भने यसको प्रवर्द्धक हाइड्रो एम्पायर लिमिटेड हो।
निर्माण कम्पनीका अनुसार इन्क्लाइन्ड सर्ज टनेलको कुल लम्बाइ ३८८.०३४ मिटर, चौडाइ ३.८ मिटर र उचाइ ४ मिटर रहेको छ। सुरुङ निर्माणका क्रममा जटिल भौगर्भिक संरचना र चुनौतीपूर्ण चट्टानी अवस्थाबीच पनि निर्धारित प्राविधिक मापदण्ड पालना गर्दै सुरक्षित रूपमा सुरुङको दुवै छेउ जोड्ने (ब्रेकथ्रु) कार्य सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो उपलब्धि परियोजनाको निर्माण प्रगतिमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा हो। सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाका बाँकी भूमिगत संरचनाको निर्माण तथा उपकरण जडानका कामलाई थप गति दिने अपेक्षा गरिएको छ।
निर्माण कम्पनीले यस सफलतामा योगदान पुर्याउने सम्पूर्ण इन्जिनियर, प्राविधिक, सुपरभाइजर, अपरेटर, श्रमिक तथा परियोजनासँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिएका सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। कम्पनीले गुणस्तरीय, सुरक्षित र समयमै आयोजना सम्पन्न गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
जलविद्युत् आयोजनामा सर्ज टनेल विद्युत् उत्पादन प्रणालीको महत्त्वपूर्ण संरचनामध्ये एक हो। यसले पानीको प्रवाहमा हुने आकस्मिक दबाब (Water Hammer) लाई नियन्त्रण गरी हेडरेस टनेल तथा पेनस्टकको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले यसको सफल ब्रेकथ्रुलाई आयोजना निर्माणको एक प्रमुख प्राविधिक उपलब्धिका रूपमा लिइन्छ।
अपर म्याग्दी जलविद्युत् आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ४६.२५ मेगावाट विद्युत् थपिने अपेक्षा गरिएको छ, जसले मुलुकको ऊर्जा उत्पादन वृद्धि तथा विद्युत् आपूर्तिलाई थप मजबुत बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनमा असार २३ देखि विद्युत् परीक्षण सुरु हुने
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको इन्क्लाइन्ड सर्ज टनेलमा ‘ब्रेकथ्रु’,
-
नेप्सेमा हरियाली फर्कियो : परिसूचक ४०.६४ अंकले बढ्यो, कारोबार ३ अर्ब २५ करोड रुपैयाँमाथि
-
नेप्सेमा कालंगा र सानिगाड हाइड्रोको आईपीओ सूचीकृत, बिहीबारदेखि कारोबार खुल्ने
-
सरकारका १०० कार्यसूचीमा ऊर्जा क्षेत्रको प्रगति : ‘लाइसेन्स राज’ अन्त्यदेखि विद्युत् निर्यात रणनीतिसम्म
-
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, आज कतिमा हुँदैछ बजारमा किनबेच ?