जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’

जलसरोकार
बुधबार, जेठ ०९, २०८१ | १२:४२:३१ बजे

 

काठमाडौँ–  नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थ्रु’ भएको छ । 

रघुगङ्गा गाउँपालिका–३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु) देखि तिल्केनी चौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइप लाइन राख्ने सुरुङ मङ्गलबार दिउँसो जोडिएको हो । 

आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट जोडिएको जानकारी दिए । ‘अडित २ र ३ को सुरुङ, ३२९ मिटर वटम र १९६ मिटर लामो भर्टिकल प्रेसर साफ्ट यसअघिनै जोडिएको थियो’, उनले भने, ‘यस आयोजना निर्माणका लागि प्रेसर साफ्टको ब्रेक थुु्र हुनुलाई अर्को महत्वपूूर्ण उपलब्धि मानेका छौँ ।’ मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृहमा लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । सुरुङ जोडिएपछि प्रेसर साफ्टमा पाइपलाइन जडानको काम गर्ने राहुघाटको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले जनाएको छ । 

पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । छ हजार दुई सय ७० मिटर लामो सुरुङमध्ये अडित १ र २ जोड्ने एक सय २५ मिटर मात्र खन्न बाँकी रहेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। दोस्रो र तेस्रो अडिट जोड्ने तीन हजार आठ सय ३६ मिटर लामो सुरुङ गत फागुन १० गते जोडिएको थियो ।आयोजनाको सिभिलतर्फको समग्रमा भौतिक प्रगति ५७ प्रतिशत छ । 

भारतीय आयात निर्यात ९एक्जिम० बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी) सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ । विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ । इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २२ प्रतिशत छ ।

रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सीधा सडकले जोडिएको छ । कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।

प्रकाशित मिति : बुधबार, जेठ ०९, २०८१ | १२:४२:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया