सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढीबाट २५ करोडभन्दा बढीकाे खानेपानी आयोजनामा क्षति

जलसरोकार
मंगलबार, भदौ ३०, २०८३ | १०:२०:०१ बजे

 

काठमाडौं : भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट ती आयोजनामा मात्रै कम्तीमा २५ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आयोजनामा पुगेको क्षतिका कारण एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकामा सञ्चालित खानेपानी आयोजनामा ठूलो क्षति पुर्‍याएको छ । अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूललाइन, शाखा पाइपलाइन र खानेपानीका धारासमेत बाढीले बगाएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–१, २ र ५ मा सञ्चालित खानेपानी आयोजना बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । ती आयोजनामा भएको क्षतिका कारण मात्रै ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन् ।

त्यसैगरी उत्तरगया गाउँपालिका–३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा पनि बाढीले पूर्णरूपमा क्षति पुर्‍याएको विभागले जनाएको छ । बाढीले कैदलटार, सिम्ले मुहान र बाँसथलसिमलगायतका आयोजनाका मुख्य तथा शाखा पाइपलाइनमा क्षति पुर्‍याउनुका साथै खानेपानीका धारा पनि बगाएको छ ।

बाढीका कारण खानेपानीको संरचना नै क्षतिग्रस्त भएपछि प्रभावित बस्तीका नागरिक सुरक्षित खानेपानीको पहुँचबाट वञ्चित भएका छन् । खानेपानी सेवा अवरुद्ध हुँदा बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै खानेपानी संरचनाको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ ।

महानिर्देशक श्रेष्ठले बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण तथा प्रभावित क्षेत्रमा खानेपानी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

विभागले क्षतिको विवरण संकलन गरी प्राथमिकताका आधारमा पुनःनिर्माण तथा मर्मतको काम अघि बढाउने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, भदौ ३०, २०८३ | १०:२०:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया