सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति, दर्जनौँ कर्मचारी सम्पर्कविहीन

जलसरोकार
बिहीबार, भदौ ११, २०८३ | ०९:३६:०७ बजे

 

काठमाडौं : रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ४३१ दशमलव १ मेगावाट क्षमताका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भई विद्युत् प्रणालीबाट बाहिरिएका छन् । नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट सञ्चालित यी आयोजना बाढीबाट प्रभावित भएका हुन् ।

बाढीबाट नदी बेसिनमा निर्माणाधीन १५ वटा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट निर्माण भइरहेका ती आयोजनाको कुल क्षमता ४७० मेगावाट रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

बाढीबाट रसुवागढी जलविद्युत् आयोजना, सालासुङ्गी (सान्जेन), माथिल्लो सान्जेन, सान्जेन, चिलिमे, लाङटाङ, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो मैलुङ, मैलुङ, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ ।

मानवीय क्षतितर्फ विभिन्न विद्युत् आयोजना तथा संरचनामा कार्यरत कर्मचारी तथा कामदारसमेत सम्पर्कविहीन भएका छन् । त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत २१ जना, चिलिमे जलविद्युत् केन्द्र क्षेत्रमा सात जना तथा चिलिमे पावर हाउससँग सम्बन्धित ११ जना सम्पर्कबाहिर रहेका छन् ।

त्यस्तै, रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत केही कर्मचारी तथा अन्य जनशक्ति, माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना तथा त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारीसमेत सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ ।

प्रसारण प्रणालीतर्फ त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । चिलिमे २२० केभी हब टावर अवरुद्ध भएपछि बन्द भएको छ भने समरटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनसमेत अवरुद्ध भएका छन् । केही अन्य प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको छ ।

वितरण प्रणालीतर्फ रसुवामा विद्युत् आपूर्ति पूर्णरूपमा अवरुद्ध भएको छ । नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा पनि विद्युत् सेवा आंशिक रूपमा प्रभावित भएको छ । धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेकाले फोजर प्रयोग गरी सफाइको काम भइरहेको छ । विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ ।

बाढीपछि प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरी फर्किएको छ भने जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्न अर्को टोली परिचालन गरिएको छ । सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयाससमेत भइरहेको छ ।

प्राधिकरणले वैकल्पिक उपायबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थानमा आंशिक रूपमा सेवा सञ्चालनको प्रयास गरिरहेको छ । सिन्धुपाल्चोकतर्फ समरटार क्षेत्रमा प्रणाली सञ्चालनमा ल्याई चौघोरा सबस्टेसन सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्यस्तै, गजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने काम भइरहेको छ ।

सम्पर्कविहीन कर्मचारी तथा सर्वसाधारणको खोज तथा उद्धारका लागि प्राधिकरणले १५ वटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ । अवरुद्ध विद्युत् प्रणालीलाई सम्भव भएसम्म सञ्चालनमा ल्याउन विद्युत् प्रणाली सञ्चालन विभागलाई समेत आवश्यक निर्देशन दिइएको छ ।

प्रकाशित मिति : बिहीबार, भदौ ११, २०८३ | ०९:३६:०७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया