सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बबई लिफ्टिङ आयोजना थप ६ महिना लम्बियो

जलसरोकार
बिहीबार, जेठ ०७, २०८३ | १४:४१:१५ बजे

 

दाङ : तुलसीपुर नगरवासीलाई सफा र शुद्ध खानेपानी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको बबई नदीको पानी लिफ्टिङ आयोजना सम्पन्न हुन अझै करिब छ महिना लाग्ने भएको छ। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्षअघि सुरु गरेको यो सहलगानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगे पनि केही प्राविधिक तथा ठेक्का सम्बन्धी समस्या कारण ढिलाइ भएको हो।

संस्थाका अध्यक्ष यमकान्त भण्डारीका अनुसार विद्युत् जडान, होम कनेक्सन तथा केही बाँकी संरचनागत काम पूरा हुन बाँकी छ। निर्माण सामग्रीको मूल्य वृद्धि भएको भन्दै ठेकेदार पक्षले काम रोकेपछि समय थप गर्नुपर्ने अवस्था आएको उनले बताए । “निर्माण कम्पनीलाई काम अघि बढाउन निरन्तर ताकेता गरिरहेका छौँ, छिट्टै कामले गति लिने अपेक्षा छ,” उनले भने।

रु ५६ करोड ८० लाख २४ हजार ६३० लागत अनुमान गरिएको यस आयोजनाअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा आपूर्ति गरिनेछ। हालसम्म मुख्य पूर्वाधार निर्माण, पाइपलाइन विस्तार तथा एक दर्जनभन्दा बढी पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेको संस्थाले जनाएको छ। एउटा मुख्य भण्डारण ट्याङ्की अन्तिम चरणमा पुगेको छ भने पुराना पाइपलाइनको मर्मतसमेत सकिएको छ।

आयोजना सम्पन्न भएपछि प्रतिसेकेण्ड करिब १०० लिटर पानी आपूर्ति हुने अपेक्षा गरिएको छ, जसले तुलसीपुर उपमहानगरपालिका–६ सहित नयाँ बसपार्क, रानीजरुवा तथा आसपासका बस्तीहरूलाई प्रत्यक्ष लाभ पुग्नेछ।

यसैबीच संस्थाले खानेपानीका प्रमुख मुहान क्षेत्रमा अनधिकृत उत्खनन रोक्न र संरक्षण गर्न पहल गरिरहेको जनाएको छ। साथै रक्षाचौर ट्रिटमेन्ट प्लान्टमा पुरानो फिल्टर सामग्री प्रतिस्थापन गरी सेडिमेन्टेसन प्रविधिमार्फत पानी शुद्धीकरण प्रणालीलाई प्रभावकारी बनाइएको उपाध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार संस्थाले झण्डै १०० वितरण च्याम्बरलाई सुरक्षित बनाइसकेको छ भने जिआइएस प्रविधि र मोबाइल एप प्रणालीमार्फत सेवा प्रवाहलाई आधुनिक बनाउने काम अघि बढाइएको छ। आगामी दिनमा स्मार्ट मिटर जडान गरी पारदर्शी बिलिङ प्रणाली लागू गर्ने लक्ष्यसमेत लिइएको छ।

हाल तुलसीपुर क्षेत्रमा करिब १२ हजार धारामार्फत ७५ हजारभन्दा बढी जनसङ्ख्याले खानेपानी सेवा लिइरहेका छन्। तर मुहान सुक्दै गएपछि केही क्षेत्रमा पानी अभाव देखिएको छ। समस्या समाधानका लागि संस्थाले ट्याङ्करमार्फत निःशुल्क पानी वितरण गर्दै आएको छ।

पहिले असार मसान्तभित्र आयोजना सम्पन्न हुने भनिए पनि प्राविधिक ढिलाइ र ठेक्का समस्याका कारण अझै करिब छ महिना थप समय लाग्ने भएपछि स्थानीयवासीको शुद्ध खानेपानीको प्रतीक्षा लम्बिएको छ।

प्रकाशित मिति : बिहीबार, जेठ ०७, २०८३ | १४:४१:१५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया