गर्मी बढेसँगै विद्युत् प्रणालीमा चाप, तार र ट्रान्सफर्मरमा समस्या बढ्दै
जलसरोकार
चितवन : अत्यधिक गर्मीसँगै विद्युतीय उपकरणको प्रयोग बढ्दा विद्युत् वितरण प्रणालीमा चाप परेको छ। बढ्दो विद्युत् माग धान्न नसक्दा कतिपय स्थानमा ट्रान्सफर्मरमा समस्या देखिएको छ भने पुराना तार जलेर चुडिने घटनासमेत बढेका छन्, जसका कारण विद्युत् आपूर्ति प्रभावित हुने गरेको छ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र चौधरीका अनुसार गर्मी बढेसँगै विद्युत्को माग अस्वाभाविक रूपमा बढ्दा पुराना तारमा अत्यधिक भार पर्ने र जल्ने समस्या देखिने गरेको छ। एकै समयमा धेरै स्थानमा यस्ता समस्या आउँदा सीमित प्राविधिक जनशक्तिका कारण मर्मत कार्यमा ढिलाइ हुने गरेको उनले बताए ।
उनका अनुसार मेसिन तार भएका स्थानमा तार पग्लिने, तार जोडिएका भागमा चुडिने, ट्रान्सफर्मरको फ्युज जल्ने तथा ट्रान्सफर्मर नै बिग्रिने समस्या देखिने गरेको छ। सीमित स्रोत–साधनका बीच काम गर्नुपर्दा सबै स्थानमा तत्काल सेवा पुनःस्थापना गर्न चुनौती हुने गरेको उनकाे भनाइ छ।
गर्मीका कारण घर तथा कार्यालयमा एसी, पङ्खालगायत विद्युतीय उपकरणको प्रयोग बढ्नुका साथै किसानले रोपाइँका लागि मोटर चलाउँदा विद्युत्को खपत उल्लेख्य रूपमा बढेको छ। चौधरीका अनुसार हरेक वर्ष विद्युत्को माग करिब १० प्रतिशतले वृद्धि भइरहेको छ।
भरतपुर महानगरपालिकाको अधिकांश क्षेत्र र इच्छाकामना गाउँपालिकामा सेवा दिँदै आएको भरतपुर वितरण केन्द्रअन्तर्गत हाल ७५ हजार ५०० ग्राहक रहेका छन्। हरेक वर्ष करिब तीन हजार नयाँ ग्राहक थपिने गरेको उनले जानकारी दिए ।
बढ्दो मागलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न थप ट्रान्सफर्मर जडान, कमजोर तार प्रतिस्थापन तथा वितरण प्रणालीको स्तरोन्नति आवश्यक रहेको चौधरीले बताए । उनका अनुसार पावर ट्रान्सफर्मरको क्षमता भने आगामी २० वर्षसम्मको माग धान्ने गरी व्यवस्थापन गरिएको छ।
आँपटारीस्थित नयाँ सबस्टेशनमा ९० मेगावाट क्षमताको पावर ट्रान्सफर्मर जडान गरी जगेडा क्षमता तयार गरिएको छ भने बसेनी सबस्टेशनमा ११२.५ मेगावाट क्षमताको पावर ट्रान्सफर्मर सञ्चालनमा रहेको छ।
“हामीसँग विद्युत्को अभाव छैन, समस्या वितरण प्रणालीमा प्रयोग भएका तार र ट्रान्सफर्मरको हो,” चौधरीले भने । उनका अनुसार आवश्यक स्थानमा ट्रान्सफर्मर जडान गर्न खोजिए पनि स्थानीय अवरोधका कारण केही ठाउँमा काम अघि बढ्न सकेको छैन। हाल १४ स्थानमा पोल र संरचना तयार भइसकेको तथा छिट्टै त्यहाँ ट्रान्सफर्मर जडान गरिने उनले जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बैंकिङ्गको बलमा नेप्से ८.७८ अंक उकालो, कारोबार ४ अर्ब नाघ्यो
-
‘सिग्नेचर ब्रिज’ निर्माण अन्तिम चरणमा
-
सुन एकैदिन ६ हजार २०० रुपैयाँले महँगियो
-
गर्मी बढेसँगै विद्युत् प्रणालीमा चाप, तार र ट्रान्सफर्मरमा समस्या बढ्दै
-
ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक
-
बिहीबार मध्य तथा पश्चिम पहाडी क्षेत्रमा वर्षाको सतर्कता, अधिकांश क्षेत्रमा विशेष जोखिम छैन