नेपाल-आर्मेनिया सम्बन्धमा नयाँ अध्याय : ‘विश्वास र आपसी समझदारीमा आधारित सहकार्य अझ महत्वपूर्ण’— आर्मेनियाली राजदूत
जलसरोकार
काठमाडौं: नेपालका लागि आर्मेनियाका राजदूत वाहाग्न अफ्यान (Vahagn Afyan) ले विश्वव्यापी आर्थिक अनिश्चितता, जलवायु चुनौती र तीव्र प्रविधिगत परिवर्तनका बीच विश्वास र आपसी समझदारीमा आधारित साझेदारी अझ महत्वपूर्ण बन्दै गएको बताएका छन् ।
काठमाडौंमा आर्मेनियाको अवैतनिक वाणिज्य दूतावास उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र आर्मेनियाबीच पर्यटन, प्रविधि, शिक्षा, व्यापार तथा सांस्कृतिक क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गरे ।
काठमाडौंको नक्सालमा स्थापना गरिएको आर्मेनियाको अवैतनिक वाणिज्य दूतावासको उद्घाटनपछि हायात सेन्ट्रिक, सोल्टीमोडमा विशेष स्वागत तथा ककटेल डिनर कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपालका लागि आर्मेनियाका राजदूत अफ्यान, नेपाली सेना प्रमुख, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै नेपालका लागि आर्मेनियाका अवैतनिक वाणिज्यदूत इन्जिनियर किरण मल्लले वाणिज्य दूतावास उद्घाटन केवल एउटा कार्यालय स्थापना नभई नेपाल-आर्मेनिया सम्बन्धको “नयाँ र महत्वाकांक्षी अध्याय” को सुरुआत भएको बताए ।
उनले नेपाल र आर्मेनियाबीच जलविद्युत् तथा नवीकरणीय ऊर्जा, पर्यटन, आतिथ्य, सूचना प्रविधि, व्यापार, शिक्षा, खानी तथा खनिज अन्वेषण र सांस्कृतिक आदान-प्रदानमा सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गरे ।
“नेपालको विशाल जलविद्युत् सम्भावना र आर्मेनियाको प्रविधि तथा औद्योगिक क्षमताबीच सहकार्यका प्रशस्त अवसर छन्,” उनले भने, “अब औपचारिक कूटनीतिभन्दा व्यवहारिक सहकार्य, लगानी प्रवर्द्धन र दीर्घकालीन साझेदारीमा केन्द्रित हुन आवश्यक छ ।”
मल्लले नेपाल र आर्मेनिया दुवै प्राचीन सभ्यता, सांस्कृतिक गौरव र दिगो विकासको आकांक्षा बोकेका राष्ट्र भएको उल्लेख गर्दै दुई देशबीच आर्थिक तथा व्यावसायिक सहकार्य आगामी वर्षहरूमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे । उनका अनुसार वाणिज्य दूतावासले संवाद, लगानी, व्यापारिक साझेदारी तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने प्रभावकारी मञ्चको रूपमा काम गर्नेछ ।
राजदूत अफ्यानले नेपाल र आर्मेनिया दुवै प्राचीन सभ्यता, सांस्कृतिक सम्पदा र आध्यात्मिक परम्पराले समृद्ध राष्ट्र भएको उल्लेख गर्दै यूनेस्को सम्पदासूचीमा सूचीकृत ऐतिहासिक तथा धार्मिक स्थलहरूले दुई देशबीच सांस्कृतिक तथा पर्यटन सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

उनले शिक्षा, नवप्रवर्तन, सूचना प्रविधि, स्टार्टअप इकोसिस्टम र व्यवसायिक सञ्जाल विस्तारमा पनि सहकार्यको सम्भावना औंल्याए । “नेपालसँग विशाल मानव स्रोत र उद्यमशील ऊर्जा छ भने आर्मेनियाले तीव्र गतिमा प्रविधि तथा स्टार्टअप क्षेत्र विकास गरिरहेको छ,” उनले भने, “दुवै देशका संस्था र व्यवसायिक समुदायबीच सहकार्य विस्तार गर्न सकिन्छ ।”
कार्यक्रममा आयोजक पक्षकी प्रतिनिधि अभिज्ञा मल्लले पटक-पटक कार्यक्रम स्थगित र समय परिवर्तनका बाबजुद अन्ततः कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै यसलाई “औपचारिक कार्यक्रमभन्दा बढी आत्मीय सम्बन्धको उत्सव” को रूपमा व्याख्या गरिन् ।
उनले नयाँ दिल्लीस्थित आर्मेनियन दूतावाससँगको पहिलो भेटदेखि नै “One Family Beyond Borders” (सीमाभन्दा परको एउटै परिवार) को भावना अनुभव गरेको स्मरण गर्दै सम्बन्ध केवल कूटनीतिक प्रोटोकलबाट नभई विश्वास, आत्मीयता र मानवीय सम्बन्धबाट बलियो बन्ने धारणा व्यक्त गरिन् ।
समारोहमा सांस्कृतिक प्रस्तुति, सम्मान आदान-प्रदान, नेटवर्किङ तथा रात्रिभोजको समेत आयोजना गरिएको थियो । कार्यक्रममा राजदूत अफ्यानले अवैतनिक वाणिज्यदूत इन्जिनियर किरण मल्लको योगदानको प्रशंसा गर्दै उनको नेतृत्वमा नेपाल-आर्मेनिया सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-आर्मेनिया सम्बन्धमा नयाँ अध्याय : ‘विश्वास र आपसी समझदारीमा आधारित सहकार्य अझ महत्वपूर्ण’— आर्मेनियाली राजदूत
-
ऊर्जामन्त्री श्रेष्ठको प्राथमिकता : जनगुनासोको तत्काल सुनुवाइ
-
सरकारको निर्देशन विपरीत गाडी किन्दै विद्युत् प्राधिकरण
-
जगदुल्ला जलविद्युत् आयोजनामा ऊर्जामन्त्री श्रेष्ठको चासो, समयमै सम्पन्न गर्न निर्देशन
-
आदिवासी तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग
-
नेप्से १२.३६ अंकले घट्यो, कारोबार रकम भने सामान्य बढ्यो