सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सौर्य ऊर्जा कम्पनीमध्ये पियोर इनर्जीको लगानी विस्तार, झापा इनर्जीको नाफामा सुधार

जलसरोकार
सोमबार, भदौ ०८, २०८३ | १३:०४:५८ बजे

 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत सौर्य ऊर्जा कम्पनीमध्ये पियोर इनर्जी र झापा इनर्जीले गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार दुवै कम्पनीको वित्तीय अवस्थामा सुधार देखिए पनि उनीहरूको रणनीति र चुनौती भने फरक देखिएको छ।

पियोर इनर्जीले लगानी विस्तारलाई प्राथमिकता दिँदै भविष्यको व्यावसायिक विस्तारमा जोड दिएको छ भने झापा इनर्जीले अघिल्लो आर्थिक वर्षको घाटालाई नाफामा परिणत गर्दै प्रतिशेयर आम्दानीमा समेत सुधार गरेको छ।

नाफातर्फ झापा इनर्जीले उल्लेख्य सुधार गरेको छ। अघिल्लो आर्थिक वर्षमा १ करोड ९७ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको नाफा गत आवमा सुधार हुँदै १ करोड ४६ लाख रुपैयाँ धनात्मक भएको छ।

यता पियोर इनर्जीको खुद नाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा २०.८८ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ।

पियोरको लगानीमा ४८१ प्रतिशत वृद्धि

नाफामा गिरावट आए पनि पियोर इनर्जीले लगानी विस्तारमा आक्रामक रणनीति अपनाएको देखिन्छ। कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४८१.३ प्रतिशतले लगानी बढाएको छ।

अघिल्लो आर्थिक वर्षमा २ करोड ७० लाख रुपैयाँ लगानी गरेको कम्पनीले गत आवमा १५ करोड ७० लाख रुपैयाँ लगानी गरेको हो। यसले कम्पनीले दीर्घकालीन व्यावसायिक विस्तार तथा भविष्यको आम्दानी वृद्धिलाई प्राथमिकतामा राखेको देखाउँछ।

झापा इनर्जीको लगानी भने तुलनात्मक रूपमा स्थिर देखिएको छ। कम्पनीले समीक्षा अवधिमा २ करोड रुपैयाँ लगानी गरेको छ।

पियोर इनर्जीको सञ्चित कोष पनि मजबुत बनेको छ। समीक्षा अवधिमा कम्पनीले २ करोड ९१ लाख रुपैयाँ सञ्चित गरेको छ। झापा इनर्जीले पनि अघिल्लो समय ऋणात्मक रहेको जगेडा कोषलाई सुधार गर्दै धनात्मक बनाउन सफल भएको छ।

झापाको प्रतिशेयर आम्दानी बढी

प्रतिशेयर आम्दानीका आधारमा झापा इनर्जी पियोरभन्दा अगाडि देखिएको छ। झापा इनर्जीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा रहेको छ भने पियोर इनर्जीको ३ रुपैयाँ १६ पैसा छ।

चुक्ता पुँजीका आधारमा भने पियोर इनर्जी ठूलो छ। पियोरको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने झापा इनर्जीको ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ।

दुवै कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ देखि १०३ रुपैयाँको हाराहारीमा रहेको छ। तर असार मसान्तको अन्तिम कारोबारलाई आधार मान्दा दुवै कम्पनीको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) २५० गुणाभन्दा माथि रहेको देखिन्छ। यसले कम्पनीको शेयर मूल्य आम्दानीको तुलनामा निकै उच्च रहेको संकेत गर्छ।

गत भदौ ५ गते शुक्रबारको दोस्रो बजार कारोबारअनुसार झापा इनर्जीको शेयर मूल्य १ हजार ३५ रुपैयाँ थियो भने पियोर इनर्जीको शेयर ७९७ रुपैयाँमा कारोबार भएको थियो।

पियोरमा वित्तीय अनुशासन, झापामा प्राविधिक चुनौती

पियोर इनर्जीले आफ्नो व्यावसायिक प्रतिवेदनमा नेपाल विद्युत् प्राधिकरणसँगको सम्झौताअनुसार विद्युत् आपूर्ति तथा नियमित भुक्तानी भइरहेको जनाएको छ। कम्पनीले बैंक ऋण र ब्याज समयमै भुक्तानी गर्दै वित्तीय अनुशासनलाई प्राथमिकता दिएको उल्लेख गरेको छ।

आयोजनाको प्रभावकारी मर्मतसम्भारका कारण प्राविधिक नोक्सानी कम गर्न सफल भएको कम्पनीको दाबी छ।

झापा इनर्जीले भने प्राविधिक चुनौती सामना गरिरहेको छ। शिवसताक्षीस्थित १० मेगावाट क्षमताको सौर्य आयोजनाको एउटा इन्भर्टरमा आगलागी भएपछि हाल आयोजनाको उत्पादन क्षमता ७.५ मेगावाटमा सीमित भएको कम्पनीले जनाएको छ।

बीमा दाबी तथा नयाँ उपकरण खरिद प्रक्रिया अघि बढेकाले आयोजना छिट्टै पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीको भनाइ छ।

समग्रमा, दुवै कम्पनीको वित्तीय विवरणले सौर्य ऊर्जा क्षेत्रमा फरक रणनीति देखाएको छ। पियोर इनर्जी लगानी विस्तार र दीर्घकालीन वृद्धितर्फ केन्द्रित देखिँदा झापा इनर्जी भने विगतको घाटा सुधार गर्दै नाफा र कार्यक्षमता वृद्धि गर्ने दिशामा अघि बढेको देखिन्छ। यद्यपि, दुवै कम्पनीको उच्च पीई रेसियोका कारण दोस्रो बजारमा शेयर मूल्यांकन महँगो रहेको संकेतसमेत वित्तीय विवरणले गरेको छ।

प्रकाशित मिति : सोमबार, भदौ ०८, २०८३ | १३:०४:५८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया