अर्थमन्त्री खनालसँग भारत र चीनका राजदूतहरूको छुट्टाछुट्टै शिष्टाचार भेट
जलसरोकार
काठमाडौँ: अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ सोङले आज मंगलबार छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।
भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले विद्यमान विषम परिस्थितिमा छिमेकी मुलुकलगायत दातृ राष्ट्रहरूसँगको आर्थिक साझेदारी निरन्तर आवश्यक रहेको उल्लेख गरे ,।
जवाफमा राजदूत श्रीवास्तवले भारत नेपालसँगको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउँदै कठिन परिस्थितिमा पनि सबै किसिमको सहयोगका लागि भारत तत्पर रहेको बताए । साथै, भारतीय सहयोगमा सञ्चालन भइरहेका विकास आयोजनामा तिब्रता दिने, नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रको मनोबल उच्च बनाउन सहकार्य गर्ने र दुई देशबीच व्यापार सहजीकरणका लागि समन्वय सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरी चीनका राजदूत चेङ सोङसँगको भेटमा अर्थमन्त्री खनालले चीनलाई असल छिमेकीको रूपमा स्मरण गर्दै निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने रहेको बताउँदै चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
अर्थमन्त्री खनालले नेपाल–चीन बैंकिङ साझेदारीलाई थप प्रगाढ बनाउन, चीनको बैंक शाखा नेपालमा स्थापना गर्न, नेपालबाट हुने निकासीको भुक्तानी सरल बनाउन र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न अनुरोध गरे ।
जवाफमा राजदूत चेङले चीनले नेपाली जनताको छनोटलाई सदैव सम्मान गर्ने उल्लेख गर्दै नेपाललाई प्रदान हुँदै आएको सहयोग निरन्तर रहने आश्वासन दिए । उहाँले चीनको सहयोगमा सञ्चालन भइरहेका परियोजना सन्तोषजनक रूपमा अगाडि बढिरहेको र चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए । साथै, परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासँग छुट्टै अन्तक्र्रिया गर्ने तयारी भइरहेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
-
देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह