सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका सबै स्थानीय तह लगानी गर्न सहमत

जलसरोकार
मंगलबार, पुस ०८, २०८२ | १०:०२:३२ बजे

 

सङ्खुवासभा : भोटखोला गाउँपालिकामा निर्माणाधीन ४५४ मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभाका १० वटै स्थानीय तहले संस्थापक सेयरमार्फत लगानी गर्ने सहमति जनाएका छन् ।

खाँदबारीमा विद्युत् उत्पादन कम्पनी लिमिटेडद्वारा आयोजित छलफल कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरूले आ–आफ्नो भागमा पर्ने सेयर बराबरको रकम लगानी गर्न तयार रहेको स्पष्ट पारेका हुन् ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत हीरामान वाइबाले किमाथाङ्का अरुण आयोजना मुलुककै ठूला जलविद्युत् आयोजनामध्ये एक भएको बताए । उनका अनुसार आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन तथा इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । यो आयोजना ‘जनताको जलविद्युत् आयोजना’ को अवधारणामा आधारित रहेर विकास गरिने वाइबाले जानकारी दिए ।

आयोजनामा ५१ प्रतिशत लगानी नेपाल सरकारको र ४९ प्रतिशत लगानी सर्वसाधारणको रहने व्यवस्था गरिएको छ, जसले स्थानीय तह र नागरिकको सहभागिता तथा स्वामित्व सुनिश्चित गर्ने उनको भनाइ छ ।

छलफलमा परियोजना प्रबन्धक अशोक पण्डितले निर्माण सुरु भएको मितिबाट पाँच वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको जानकारी दिए । उनले आयोजना समयमै सम्पन्न गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले यति ठूलो र रणनीतिक महत्वको आयोजना तोकिएकै समयमा सम्पन्न गरिनुपर्ने बताउँदै स्थानीय तह, आयोजना प्रवद्र्धक कम्पनी र केन्द्र सरकारबीचको समन्वयले आयोजना सफल हुने विश्वास व्यक्त गरे ।

अर्ध जलाशय प्रकृतिको यस आयोजनाअन्तर्गत छुम्सुर गाउँ नजिक अरुण नदीमा करिब १४० मिटर अग्लो बाँध निर्माण गरिने प्रारम्भिक डिजाइन रहेको छ । बाँध निर्माणपछि करिब ०.३५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने र १०३ लाख घनमिटर पानी अट्ने क्षमताको जलाशय बन्ने जनाइएको छ ।

आयोजनाको विद्युत् गृह भोटखोला गाउँपालिका–२ अन्तर्गत लिंगम गाउँबाट करिब ५०० मिटर तल पुङछी क्षेत्रमा रहनेछ । यसका लागि करिब पाँच हजार ९१८ मिटर लामो र आठ मिटर व्यासको भूमिगत सुरुङ निर्माण गरिने योजना छ । साथै आयोजनास्थलसम्म पुग्न २६.८ किलोमिटर पहुँचमार्ग निर्माण गरिनेछ ।

आयोजनाका अधिकांश संरचना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले वातावरणीय व्यवस्थापनमा विशेष ध्यान दिइने जनाइएको छ । आयोजनाको अनुमानित लागत करिब ९२ अर्ब रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : मंगलबार, पुस ०८, २०८२ | १०:०२:३२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया