सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुपर काबेली-'ए' पछि स्नो रिभर्सको नजर थप दुई जलविद्युत् आयोजनामा

जलसरोकार
बुधबार, असोज २१, २०८३ | १७:५६:३८ बजे
कम्पनीको पाँचौं वार्षिक साधारण सभामा अध्यक्षसहित सञ्चालक समिति सदस्यहरु

काठमाडौं । १३.५ मेगावाटको सुपर काबेली खोला-ए जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको स्नो रिभर्स लिमिटेडले थप दुई जलविद्युत् आयोजनामा लगानी विस्तार गरेको छ।

कम्पनीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा प्रवर्द्धन भइरहेको ४६ मेगावाटको भोटेकोशी-५ जलविद्युत् आयोजनामा ९ करोड ३७ लाख ५० हजार रुपैयाँ तथा म्याग्दीको धवलागिरि गाउँपालिकामा प्रवर्द्धन भइरहेको ६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनामा पनि ९ करोड ३७ लाख ५० हजार रुपैयाँ लगानी गरेको जनाएको छ। दुवै आयोजनामा गरिएको लगानी गरी कम्पनीले कुल १८ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ।  

कम्पनीका अनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाट प्राप्त रकमलाई न्यूनतम लागत र छोटो अवधिमा निर्माण सम्पन्न भई उच्च प्रतिफल दिन सक्ने उपयुक्त जलविद्युत् आयोजना तथा कम्पनी छनोट गरी लगानी गर्ने उद्देश्य राखिएको थियो। सोही योजनाअनुसार भोटेकोशी-५ र म्याग्दीखोलामा लगानी गरिएको हो। प्रतिवेदनमा भोटेकोशी-५ को भौतिक प्रगति ४० प्रतिशत र म्याग्दीखोला आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत रहेको उल्लेख छ।  

स्नो रिभर्सले ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-८ मा निर्माण गरेको १३.५ मेगावाटको सुपर काबेली खोला-ए आयोजना २०८१ पुस ५ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएर व्यावसायिक उत्पादनमा आएको हो।  

आर्थिक वर्ष २०८२/८३ मा आयोजनाले ८ करोड ३ लाख ४३ हजार ९१८ युनिट विद्युत् उत्पादन गरेको छ। यो नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) मा उल्लेखित कुल वार्षिक ऊर्जाको ८८.२० प्रतिशत हो।  

कम्पनीले उत्पादन बढाउन प्रसारण प्रणालीमा देखिने कन्जेसन घटाउने, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित अन्य जलविद्युत् प्रवर्द्धकसँग समन्वय गर्ने र आयोजना क्षेत्रमा बाढी निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने योजना पनि अघि सारेको छ।  

यसैबीच कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड १२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।  

सुपर काबेली-एबाट नियमित विद्युत् उत्पादन सुरु गरेपछि स्नो रिभर्सले आफ्नो लगानीलाई एउटै आयोजनामा सीमित नराखी नयाँ आयोजनातर्फ विस्तार गर्न थालेको देखिन्छ। कम्पनीको आगामी योजनामा पीपीएमा तोकिएको वार्षिक ऊर्जाको शतप्रतिशत उत्पादनका लागि स्रोतसाधनको उचित व्यवस्थापनसँगै नयाँ जलविद्युत् आयोजनामा लगानी विस्तारलाई पनि प्राथमिकता दिइएको छ।  

प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ को आर्जित नाफा १० करोड ६८ लाख ११ हजार २६५ रुपैयाँ उल्लेख छ, जसबाट बोनस तथा नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ।

साधारण सभामा अध्यक्ष मोहन विक्रम कार्कीले अर्को वर्ष कम्पनीले दोब्बर लाभांश वितरण गर्न सक्ने जानकारी दिए। 

अध्यक्ष कार्कीले अत्यन्त दुर्गम स्थानमा रहेकाे सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना बडो दुखका साथ निर्माण गरिएको स्मरण गरे। झापाको बिर्तामोडदेखि २२० किलोमिटर पक्की सडकमा जाँदा सात घण्६ा लाग्ने र बाटामा ५५ किलोमिटर कच्ची सडक पार गर्दै बनाइएको उनले बताए। 

प्रकाशित मिति : बुधबार, असोज २१, २०८३ | १७:५६:३८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया