बुढीगण्डकी आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना (१२०० मेगावाट) अगाडि बढाउनुपर्नेमा विशेष जोड दिए।
उनले नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताहरूको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको उल्लेख गर्दै आयोजनामा स्रोतको कमी भए निजी क्षेत्रका तर्फबाट यसै कम्पनीमार्फत लगानी गर्न तयार रहेको स्पष्ट पारे।
नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले जलविद्युतको विकाससँगै खनिज, कृषि उत्पादन तथा अन्य उद्यम-व्यवसायका सम्भावनाहरू पनि थप उजागर हुने विश्वास व्यक्त गरे। साथै धादिङ जिल्लामा रहेका खनिज, कृषि तथा अन्य सम्भावनायुक्त क्षेत्रहरूमा समेत एनडीपीमार्फत लगानी गर्न निजी क्षेत्र तयार रहेको उनको भनाइ थियो।
निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समय, तोकिएको गुणस्तर र तोकिएकै बजेट तथा स्रोतभित्र सम्पन्न गर्ने गरेको दाबी गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रको कार्यक्षमतामा प्रश्न उठाउनु अनुचित हुने टिप्पणी गरे।
“गत भदौको जेन-जी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानमा आगजनी र क्षति पुगेको थियो। तर निजी क्षेत्रले ती व्यवसायहरू मर्मत-सम्भार र पुनर्निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ,” उनले भने।
उनले निजी क्षेत्रमाथि भएका धरपकड र व्यवसायमाथि गरिएको प्रहारले लगानी वातावरणमा नकारात्मक सन्देश गएको उल्लेख गर्दै राज्यले निजी क्षेत्रप्रति भरोसा गर्नुपर्ने आवश्यकता औँल्याए ।
“निजी क्षेत्रले उत्पादन गरेको छ, पूर्वाधार निर्माण गरेको छ, सेवा दिएको छ, रोजगारी सृजना गरेको छ र राज्यलाई राजस्व तिरेको छ। तर निजी क्षेत्र किन सधैँ उपेक्षित हुन्छ ?” अध्यक्ष ढकालले प्रश्न गरे।
स्थानीय स्तरमा आयोजना गरिने मेला-महोत्सवहरूले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा उल्लेखनीय भूमिका खेल्ने बताउँदै उनले यस्ता कार्यक्रमलाई महासंघले सधैँ प्राथमिकतामा राख्दै आएको जानकारी दिए ।
“यस्ता मेला-महोत्सवहरूले स्थानीय उत्पादन तथा सम्भावनाहरू प्रवर्द्धन गर्न सहयोग पुर्याउँछन्। यसबाट स्थानीय आर्थिक गतिविधि विस्तार हुनुका साथै रोजगारी सृजना हुने भएकाले महासंघले यस्ता कार्यक्रमलाई विशेष महत्व दिँदै आएको छ,” उनले भने।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री श्रेष्ठले सार्वजनिक गरे ऊर्जा क्षेत्रको संरचनात्मक सुधारका लागि ३२ बुँदे सुधार योजना
-
मनसुनपूर्व तयारी : बाढी–जोखिम न्यूनीकरणका लागि २४ सै घण्टा पूर्वसूचना प्रणाली सक्रिय
-
सेयर बजारमा गिरावट, नेप्से ३३ अंकले घट्यो
-
नारायणी सिँचाइ : जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो
-
ऊर्जा क्षेत्र सुधारका लागि चारवटा विधेयक बनाउँदै ऊर्जा मन्त्रालय
-
सुनचाँदीको मूल्यमा निरन्तर उकालो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?