सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

चमेलिया नदीमा थप २८.३० मेगावाटको जलविद्युत् आयोजना बन्ने, पूरक ईआईए प्रक्रिया अघि बढ्यो

जलसरोकार
मंगलबार, साउन १२, २०८३ | १६:३५:२३ बजे

 

काठमाडौं : सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा परिचित चमेलिया नदीमा थप एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ। दार्चुला पावर कम्पनी प्रवर्द्धक रहेको २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको हो।

दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने उक्त आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ। नदी प्रवाहमा आधारित आयोजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरिसकेको छ। आयोजनाका सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको छ।

आयोजनाको डिजाइन परिवर्तन तथा केही संरचनाको स्थानान्तरणका कारण उत्पन्न हुन सक्ने वातावरणीय प्रभावको मूल्याङ्कन गर्न पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया अघि बढाइएको छ। यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गरेको छ।

यसअघि आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०८० चैत ७ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो। त्यसपछि २०८२ पुस २१ गते पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्राप्त भएको थियो।

नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनीबीच २०८० असोज २९ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ। साथै, २०८२ जेठ २१ गते आयोजनाको वित्तीय व्यवस्थापन पनि टुंगिएको छ।

प्रस्तावित आयोजना दार्चुलाको गोकुलेश्वर बजारबाट करिब ३० किलोमिटर उत्तर–पश्चिममा अवस्थित छ। आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना रहेको छ भने तल्लो तटमा ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना सञ्चालनमा छ।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको बलाच सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजनाले वर्षायाममा ११८.५२ गिगावाट घण्टा र हिउँदमा ६७.१० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने अनुमान गरिएको छ।

करीब तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कुल लागत ६ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रुपैयाँ रहेको छ। आयोजना सम्पन्न भएपछि सुदूरपश्चिम क्षेत्रमा विद्युत् उत्पादन क्षमता विस्तार हुनुका साथै स्थानीय स्तरमा रोजगारी र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : मंगलबार, साउन १२, २०८३ | १६:३५:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया