जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपालगञ्ज क्षेत्रमा विद्युतकाे गुणस्तर सुधार गर्न २ नयाँ प्रसारण लाइन

जलसरोकार
शुक्रबार, साउन ०४, २०८१ | ११:४९:०० बजे
फाइल फोटो

 

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रकाे विद्युत प्रसारण तथा वितरण प्रणालीकाे गुणस्तर सुधार गर्न २ वटा ३३ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएकाे छ । नेपाल विद्युत प्राधिकरणले काेहलपुर सबस्टेसनसँग जाेडिने कोहलपुर–नेपालगञ्ज र काेहलपुर–धामपुर प्रसारण लाइन निर्माण गरी सञ्चालनमा ल्याइएकाे हाे ।

यी प्रसारण लाइन सञ्चालनमा आउँदा १० मेगावाट विद्युत प्रवाह हुने पूर्वाधार थपिएकाे विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र प्रमुख  जगन्नाथ लामिछानेले बताए ।

“यसअघि ३० मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइनकाे पूर्वाधार मात्रै हुँदा माग अनुसार विद्युत आपूर्ति गर्न सकिने अवस्था थिएन”, उनले भने, “अब प्रसारण क्षमता बढेकाले ४० मेगावाट प्रवाह गर्न सकिने भएकाे छ । यसले विद्युत वितरणकाे गुणस्तरमा सुधार हुनेछ ।”

उनले घरायसी ग्राहककाे वितरण प्रणाली विस्तार तगा सुधारका लागि  नै  प्रसारण लाइनकाे क्षमता विस्तार गरेकाे र यसले नेपालगञ्जबासीलाई गर्मीबाट  राहत पुग्ने बताए ।

उनले थप भएको प्रसारण लाइनबाट नेपालगञ्ज उपमहानगरपालिकासहित डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र केही राप्तीसोनारी गाउँपालिकाका क्षेत्र समेत लााभावन्वित हुने बताए ।

बाँकेमा केही महिनाअघि आएको हावाहुरीले विद्युत् आपूर्तिमा ठूलो क्षति पुर्याएकाले केही ट्रान्सफर्मर नयाँ र केही पुरानाको क्षमता वृद्धि गरिएको वितरण केन्द्रले जनाएकाे छ ।

७० किलोमिटर प्रसारण लाइनकाे तार तान्न तथा  लोड व्यवस्थापन र मर्मतसम्भारसहितका काम गरी प्रणाली सुधार गरिएकाे वितरण केन्द्रले जनाएको छ । “आवश्यकताअनुसार जहाँ लोड बढी हुन्छ, त्यहाँ नयाँ ट्रान्सफर्मर जडान गरेका छौँ, जहाँ कम लोड छ त्यहाँ क्षमता वृद्धि गरेर पनि ट्रान्सफर्मर लगाएका छौँ”, लामिछानेले भने ।  विद्युत् लाइनका लागि हावाहुरीले क्षति पुर्याएका स्थानमा नयाँ खम्बासमेत गाडिएको छ ।

प्रकाशित मिति : शुक्रबार, साउन ०४, २०८१ | ११:४९:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया