जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ५५ मिटर लामो ट्रस पुल निर्माण हुँदै
जलसरोकार
तनहुँ : तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस पुल निर्माण प्रक्रिया अघि बढेको छ । आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदीखोलामा सर्वसाधारणको सहज तथा सुरक्षित आवतजावतका लागि पुल निर्माण सुरु गरिएको हो ।
पुल निर्माणका लागि चितवनस्थित जलप नेपाल प्रालिसँग गत मङ्सिर २४ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २४ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
उनका अनुसार करिब रु आठ करोड १० लाखको लागतमा ५५ मिटर लामो ट्रस पुल निर्माण भइरहेको छ । पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा फेदीखोला वारपार गर्न स्थानीयवासी तथा सर्वसाधारणले भोग्दै आएको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।
हाल पुलको अभावमा खोलाको पानीको बहाव र मौसमअनुसार आवतजावत प्रभावित हुँदै आएको थियो । विशेषगरी वर्षायाममा स्थानीयवासी जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था रहेको थियो । पुल निर्माणपछि दैनिक आवतजावत गर्ने स्थानीयवासीसँगै विद्यार्थी, कृषक तथा व्यवसायीलाई सहज हुने आयोजना प्रमुख भण्डारीले बताए ।
निर्माणाधीन पुलले भिमाद बजारसहित ऋषिङपाटन, जलबिरे, वाङटाङीटार, लदन, आमडाँडा र टुटुवालगायत बस्तीलाई सडक सञ्जालमार्फत जोड्नेछ । यसैगरी ऋषिङ गाउँपालिका–७ र ८ का पुरानो ऋषिङ, पल्ट्याङलगायत बस्तीका बासिन्दालाई पनि पुलबाट प्रत्यक्ष लाभ पुग्नेछ ।
पुल निर्माणपछि भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबीचको यातायात सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ । यसबाट स्थानीय बस्तीबीचको आवागमन सहज हुनुका साथै कृषि उपज तथा अन्य स्थानीय उत्पादन बजारसम्म पुर्याउनसमेत सहयोग पुग्नेछ ।
त्यस्तै, पुलले स्थानीयवासीको शिक्षा, स्वास्थ्य, व्यापार तथा व्यवसायमा पहुँच विस्तार गर्न योगदान पुग्ने आयोजना कार्यालयले जनाएको छ ।
तनहुँ जलविद्युत् आयोजना निर्माणका क्रममा डुबान क्षेत्रमा पर्ने स्थानमा स्थानीय आवश्यकता र पूर्वाधार विकासलाई ध्यान दिँदै विभिन्न संरचना निर्माणलाई प्राथमिकता दिइएको छ । फेदीखोलामा निर्माण भइरहेको ट्रस पुल पनि स्थानीय बासिन्दाको आवागमन सहज बनाउने उद्देश्यले अघि बढाइएको आयोजनाले जनाएको छ ।
पुल निर्माण सम्पन्न भएपछि फेदीखोलाका कारण वर्षायाममा हुने आवागमनको समस्या दीर्घकालीन रूपमा समाधान हुनुका साथै भिमाद र ऋषिङ क्षेत्रका विभिन्न बस्तीबीचको सडक पहुँचसमेत थप मजबुत हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य