प्रभावित क्षेत्रमा तनहुँ जलविद्युत् आयोजनाका ९२ योजना सम्पन्न, आठ कार्यान्वयनमा
जलसरोकार
तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व कार्यक्रममार्फत ९२ वटा योजना सम्पन्न भएका छन् । थप आठ वटा योजना कार्यान्वयन चरणमा रहेका छन् ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रका बासिन्दासँग सहकार्य गर्दै उपभोक्ता समितिमार्फत सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिएका हुन् । ती योजनाहरू वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित अनुगमनमा राखिएको उनले बताए ।
हाल सञ्चालनमा रहेका योजनामध्ये ऋषिङ–७ स्थित माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक, म्याग्दे गाउँपालिका–३ को किलचोक शाखा सडकमा नाला निर्माण, भिमाद नगरपालिका–५ को फेदीखोला मोटरेबल पुल निर्माण, ऋषिङ–७ स्थित डाँडीवन चुलेसी पहुँच मार्ग निर्माण उल्लेखनीय छन् । साथै, ऋषिङ र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा निर्माण हुने चार झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानी, वानटाङ खोलामा पक्की पुल निर्माण, व्यास नगरपालिका–५ पाटनमा पहुँच सडकसँग जोडिने ग्रामीण सडक र ऋषिङ–१ मा खानेपानी मुहान तथा पाइप सुधार कार्यक्रमसमेत अघि बढिरहेका छन् ।
आयोजना निर्माणमा समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख भण्डारीले बताए । “समुदायसँग सहकार्य गर्दै आयोजना सम्पन्न गर्ने हाम्रो लक्ष्य हो । विभिन्न सामाजिक पूर्वाधार तथा आयआर्जनका कार्यक्रममा आयोजनाको तर्फबाट निरन्तर सहयोग हुँदै आएको छ,” उनले भने, ।
आयोजनाको निर्माण कार्य तीन चरणमा अघि बढिरहेको छ । पहिलो चरणअन्तर्गत बाँधसहितका संरचना (हेडवक्र्स) निर्माण, दोस्रो चरणमा मुख्य सुरुङ, विद्युत्गृह तथा सम्बन्धित उपकरण जडान, र तेस्रो चरणमा दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । वित्तीय व्यवस्थापनअन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले १५ करोड डलर, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख डलर, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख डलर र नेपाल सरकारको समन्वयमा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने व्यवस्था गरिएको छ ।
आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप १४० मेगावाट विद्युत् आपूर्ति भई देशको ऊर्जा सुरक्षामा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आज पनि तराईका केही जिल्लामा तातो हावाको चेतावनी, देशभर वर्षाको सम्भावना
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्