सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

७३ प्रतिशत अझै काउन्टरमै, विद्युत् महसुल डिजिटल माध्यमबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

जलसरोकार
बिहीबार, असोज २२, २०८३ | १०:१७:३५ बजे

 

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानीका लागि डिजिटल माध्यम प्रयोग गर्न नागरिकलाई आग्रह गरेका छन् । डिजिटल प्रविधिको प्रयोग बढिरहेको अवस्थामा पनि अझै ७३ प्रतिशत नागरिक विद्युत् महसुल तिर्न भौतिक रूपमा काउन्टरमै पुग्ने गरेको तथ्यांक प्रस्तुत गर्दै उहाँले यस्तो अवस्थालाई क्रमशः परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई व्यापक बनाउन सचेत नागरिकको सहयोग आवश्यक रहेको बताएका छन् । उनका अनुसार डिजिटल माध्यमबाट महसुल भुक्तानी गर्दा नागरिकको समय तथा आवतजावतमा लाग्ने खर्च बचत हुनुका साथै नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षासमेत बढ्छ ।

त्यस्तै, महसुल संकलनका लागि सञ्चालन गरिएका काउन्टरमा लाग्ने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने उनकाे भनाइ छ ।

काउन्टर सञ्चालनमै वार्षिक करिब ६० करोड खर्च

मन्त्री श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन् । यी काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको उहाँले बताउनुभएको छ । काउन्टर सञ्चालनको मासिक खर्च करिब पाँच करोड रुपैयाँ रहेको उनकाे भनाइ छ ।

“अझै पनि ठूलो सङ्ख्यामा नागरिक काउन्टरमै पुग्नुपर्ने अवस्थालाई अब हामी सबै मिलेर परिवर्तन गर्न सक्छौँ । डिजिटल भुक्तानी गर्दा नागरिकको समय र आवतजावतको खर्च बचत हुन्छ । नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा बढ्छ,” मन्त्री श्रेष्ठले भनेका छन् ।

काउन्टर सञ्चालनमा खर्च हुने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा प्रयोग गर्न सकिने उल्लेख गर्दै उहाँले डिजिटल भुक्तानीलाई सहज र व्यापक बनाउनुपर्नेमा जोड दिएका छन् ।

मन्त्री श्रेष्ठले आफ्नो परिवार, इष्टमित्र, छरछिमेक तथा चिनजानका नागरिकलाई डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न सिकाउन र प्रोत्साहित गर्नसमेत आग्रह गरेका छन् ।

विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने अभिभावक, ज्येष्ठ नागरिक तथा आफन्तलाई एकपटक सिकाइदिन आग्रह गर्दै उनले नागरिकको केही मिनेटको सहयोगले हरेक महिना हुने समय खर्च बचाउन सक्ने बताए । 

“यो केवल डिजिटल भुक्तानी बढाउने अभियान होइन । यो नागरिकको समय बचाउने, सेवा सहज बनाउने, वित्तीय पारदर्शिता बढाउने र सार्वजनिक स्रोतको अझ प्रभावकारी सदुपयोग गर्ने साझा अभियान हो,” उनले भने ।

मन्त्री श्रेष्ठले आजैदेखि सम्भव भएसम्म कम्तीमा एक जनालाई डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न सिकाउन आग्रह गरेका छन् । उनले एक व्यक्तिले अर्को व्यक्तिलाई सिकाउँदै गएमा डिजिटल भुक्तानीको पहुँच विस्तार हुने धारणा राखेका छन्।

प्रकाशित मिति : बिहीबार, असोज २२, २०८३ | १०:१७:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया