डाडाखेत–राहुघाट प्रसारण लाइन पाँच वर्षमा ७० प्रतिशत काम सकियो
जलसरोकार
म्याग्दी ः म्याग्दी र राहुघाट बेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रणालीमा जोड्न सञ्चालन भएको डाडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाले सत्तरी प्रतिशत काम पूरा गर्न पाँच वर्ष लगाएको छ भने बाँकी ३० प्रतिशत काम आगामी पाँच महिनाभित्र सम्पन्न गर्न ठेकेदारलाई चुनौती रहेको आयोजनाले जनाएको छ । मालिका गाउँपालिका–७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्बाङसम्म २५ किलोमिटर लामो प्रसारण लाइन र दुवै स्थानमा सबस्टेशन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा लार्सन एण्ड टुब्रो लिमिटेडसँग रु ३ अर्ब ५७ करोडमा ठेक्का सम्झौता भएको थियो ।
पहिलो म्याद २०२५ जुलाई १६ र दोस्रो म्याद नोभेम्बर १६ मा सकिएपछि तेस्रो पटक २०२६ मे १६ सम्म म्याद थप गरिएको हो । वन क्षेत्रमा रुख कटान आदेश नआउनु, राहुघाट सबस्टेशन स्थलको कमजोर भूगोल, विपद् जोखिम र केही टावर स्थलमा समुदायको विवादका कारण निर्माण अवधि लम्बिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए ।
हालसम्म ७३ वटा टावरको जग राखिएकोमा ६० वटा टावर खडा भएका छन् । रुख काट्नुपर्ने पाँच स्थानबाहेक सबै टावरमा काम सुरु भइसकेको छ । तीन किलोमिटर क्षेत्रमा तार तान्ने काम सम्पन्न भएको छ भने प्रसारण लाइन र सबस्टेशनका उपकरण आयात भइसकेका छन् । डाडाखेत सबस्टेशनमा ९० प्रतिशत, प्रसारण लाइनमा ६५ प्रतिशत र राहुघाट सबस्टेशनमा ६० प्रतिशत प्रगति भएको छ ।
एलएनटीका आयोजना व्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थप गरेर तोकिएको म्यादभित्र आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । डाडाखेतमा १३३÷३३ केभी, ३० एमभिए क्षमताको एआईएस प्रविधिको सबस्टेशन जडान भइरहेको छ भने राहुघाटमा २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको जिआइएस प्रविधिको सबस्टेशन निर्माण अघि बढाइएको छ ।
कुल रु ४ अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजनामा नेपाल विद्युत् प्राधिकरणको रु १ अर्ब ५ करोड र एशियाली विकास बैंकको रु ३ अर्ब ८२ करोड ऋण लगानी छ । प्रसारण लाइनको ‘राइट अफ वे’ र टावरका लागि २५.६२ हेक्टर वन क्षेत्र प्रयोग गर्न २०८० फागुन ६ गते मन्त्रिपरिषद् बैठकबाट स्वीकृति प्राप्त भएको थियो । आयोजनास्थलमा रहेका ३,९३६ वटा रुख कटानमा ढिलाइ भइरहेको जनाइएको छ ।
म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । तीमध्ये केही आयोजनाले अस्थायी टावरमार्फत २२० केभी कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपूर्ति सुरु गरिसकेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति
-
सञ्चालक समितिको निर्णयविपरीत प्राधिकरणले फेरि रेट तोकेर भारतबाट बिजुली आयातको टेन्डर निकाल्यो
-
सुनचाँदीको मुल्य सस्तियो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
कालिन्चोक हाइड्रोपावरले फागुन १३ देखि आईपीओ निष्काशन गर्ने
-
पश्चिमी वायुको प्रभावः उच्च पहाडी क्षेत्रमा बादल, तराईमा हुस्सु र तुँवालोको सम्भावना
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, बिहीबार ८.९७ अंकले उकालो