सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

जलसरोकार
बुधबार, पुस २३, २०८२ | ०९:२५:५८ बजे

 

पोखरा : पोखराको मुख्य बजार क्षेत्रमा बिजुलीका तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम पूरा भइसकेको छ भने अन्य स्थानमा पनि विद्युत् तार जमिनमुनि गाड्ने कार्य निरन्तर जारी छ।

नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा वितरण प्रणाली सुदृढीकरणका लागि सञ्चालन गरेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत पोखरामा पछिल्लो तीन वर्षदेखि काम भइरहेको हो।

आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक, रत्नचोक, राष्ट्र बैंक चोक, सहिद चोक, लेकसाइड, हल्लन चोक, बुलौदी हुँदै जिरो किलोमिटरसम्मका क्षेत्रमा हाल विद्युत् तार भूमिगत गर्ने काम भइरहेको छ। हालसम्म परियोजनाको ६५ प्रतिशत प्रगति भइसकेको छ भने न्यूरोड क्षेत्रमा केही समयपछि काम सुरु गरिनेछ।

उनका अनुसार विद्युत् आपूर्तिको मुख्य स्रोत कुँडहर सवस्टेशनबाट पूर्वतर्फ विमानस्थल र पश्चिमतर्फ सेतीपुलसम्मको लाइन भूमिगत भइसकेको छ। कतिपय क्षेत्रमा लाइन चार्ज गर्न बाँकी रहेको र बाँकी क्षेत्रमा पछिल्लो समय तीव्र रूपमा निर्माण अघि बढाइएको उनले बताए।

आयोजनाको निर्माण अवधि आगामी जुन ३१ गतेसम्म रहेको र तोकिएको समयभित्र सबै काम सम्पन्न हुने विश्वास लिइएको सुवेदीले जानकारी दिए। पोखरामा विद्युत् तार भूमिगत गर्ने परियोजना सन् २०२२ मा सुरु भएको भए पनि प्रारम्भिक डिजाइन र भूगर्भ अध्ययनमा समय लागेकाले वास्तविक निर्माण कार्य एक वर्षपछि सुरु भएको थियो।

विद्युत् तार भूमिगत गर्न होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ (HDD) प्रविधि प्रयोग गरिएको छ। यस विधिबाट सडक नखनी तार बिछ्याइएपछि आवश्यक स्थानमा ट्रान्सफर्मर जडान गरी घरघरमा विद्युत् आपूर्ति गरिएको छ।

विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार र पोल हट्ने, सहरी सौन्दर्य बढ्ने तथा जोखिमसमेत घट्ने अपेक्षा गरिएको छ। पोखराको २३ किलोमिटर क्षेत्रमा तार भूमिगत गर्न १ अर्ब ७० करोड रुपैयाँ लागतमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्ससँग ठेक्का सम्झौता गरिएको छ। यस्तै, भरतपुरमा भने परियोजनाको ७४ प्रतिशत काम सकिएको र त्यहाँको लागत १ अर्ब ३० करोड रुपैयाँ रहेको आयोजना प्रमुख सुवेदीले जानकारी दिए।

विद्युत् तार भूमिगत भएसँगै इन्टरनेट र टेलिफोनका तार व्यवस्थापनमा पोखरा महानगरपालिकाले पनि चासो देखाएको छ। महानगरले इन्टरनेट सेवा प्रदायकहरूसँग पटक–पटक छलफल गरी पोलहरूमा अव्यवस्थित रूपमा झुन्डिएका अनावश्यक तार हटाउन आग्रह गरेको छ।

महानगर प्रमुख धनराज आचार्यले सेवा प्रदायकलाई यथाशीघ्र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी सहकार्य गर्न आग्रह गरिएको बताए। “पोखरा बजारलाई ताररहित बनाउने योजनाअनुसार विद्युत् प्राधिकरणले काम गरिरहेको छ। यसमा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकलाई आग्रह गरेका छौँ, नहटाए महानगर आफैँले हटाउनेछ,” उनले भने।

प्रकाशित मिति : बुधबार, पुस २३, २०८२ | ०९:२५:५८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया