मर्स्याङ्दीमा प्रत्येक घरलाई मासिक ५० युनिट बिजुली निःशुल्क
जलसरोकार
लमजुङ : सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटभन्दा बढी विद्युत् उपभोगमा पाँच प्रतिशत कर लगाउने तयारी गरिरहेका बेला लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने आफ्ना नागरिकलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी प्रत्येक घरधुरीलाई मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गर्ने व्यवस्था गरेको हो। ‘जलविद्युत्काे आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत ल्याइएको यो प्रस्ताव गाउँपालिकाको २१औँ गाउँसभाबाट पारित भइसकेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षका लागि ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। पालिकाभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाबाट प्राप्त हुने रोयल्टी रकमबाट स्थानीय उपभोक्ताको विद्युत् महसुल भुक्तानी गरिने व्यवस्था मिलाइएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलका अनुसार पालिकाभित्रका नौवटै वडामा चार हजार ४०९ घरधुरी रहेका छन्। आगामी आर्थिक वर्षमा जलविद्युत् रोयल्टीबाट करिब चार करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। उक्त आम्दानीको एक हिस्सा स्थानीयलाई निःशुल्क विद्युत् उपलब्ध गराउन खर्च गरिने उनले बताए ।
मर्स्याङ्दी गाउँपालिकाभित्र हाल ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित आठ वटा आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ। साथै ५० मेगावाट क्षमताको मर्स्याङ्दीबेँसी जलविद्युत् आयोजनालगायत थप आयोजना निर्माणाधीन रहेकाले आगामी दिनमा रोयल्टी आम्दानी अझ बढ्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
पालिकाका करिब ९० प्रतिशत घरधुरीले मासिक ५० युनिटभन्दा कम विद्युत् उपभोग गर्ने गरेका छ, उनले भने, । अधिकांश ग्रामीण क्षेत्र भएकाले उद्योगधन्दा न्यून रहेको र विद्युत् खपत पनि कम हुने भएकाले धेरैजसो नागरिकले अब विद्युत् महसुल तिर्नु नपर्ने अवस्था सिर्जना हुने पौडेलको भनाइ छ।
हालै सम्पन्न २१औँ गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ७३ लाख १८ हजार ५०० रुपैयाँको बजेट पारित गरेको छ। करिब १८ हजार ७५९ जनसङ्ख्या रहेको मर्स्याङ्दी गाउँपालिकामा निःशुल्क विद्युत् सुविधा लागू हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से ४३ अंकले घट्यो, पाँच दिनदेखिको गिरावट कायमै
-
रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी
-
भोटेकोशी बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार र पुनःस्थापनाबारे उच्चस्तरीय छलफल
-
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
-
त्रिशूली-३ ‘ए’ मा उद्धार प्रयास थप तीव्र, केबल टनेलको पानी निकालिँदै
-
रसुवागढी जलविद्युत् केन्द्रका ९३ जना अझै बेपत्ता, सुरुङमा खोज्दा पनि कोही भेटिएनन्