माथिल्लो त्रिशूली–३ ‘ए’ काे पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ कर्मचारी बेपत्ता (नामावली)
जलसरोकार
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको नामावलीअनुसार बेपत्ता हुनेमा आयोजनाका उच्च तहका कर्मचारी, इन्जिनियर, प्राविधिक, सुपरभाइजर, कार्यालय सहयोगी तथा सुरक्षाकर्मीसमेत रहेका छन्।
बेपत्ता हुनेमा आयोजनाका सहायक प्रबन्धक विनोदप्रसाद पाण्डे, सिभिल इन्जिनियर दिलीप यादव तथा मेकानिकल इन्जिनियर राजेन्द्र ढकाल र महेन्द्र विक्रम शाही रहेका छन्। त्यस्तै, सात जना सहायक इन्जिनियर र ११ जना सुपरभाइजरसमेत सम्पर्कविहीन भएका छन्।
प्राधिकरणका अनुसार व्यवस्थापन तथा इन्जिनियरिङतर्फ सहायक प्रबन्धक एक, इन्जिनियर तीन, सहायक इन्जिनियर सात, सुपरभाइजर ११, फोरम्यान आठ, इलेक्ट्रीसियन एक, जुनियर मिस्त्री चार, कार्यालय सहयोगी तीन, हेल्पर तीन, मेकानिकल तथा टेक्निकल सपोर्टर दुई र स्वीपर एक जना रहेका छन्। त्यस्तै, सात जना सुरक्षा गार्डसमेत बेपत्ता छन्।
बेपत्ता हुने अधिकांश स्थायी कर्मचारी रहेको प्राधिकरणले जनाएको छ। केही दैनिक ज्यालादारी तथा सेवा सम्झौतामार्फत कार्यरत कर्मचारीसमेत बेपत्ता भएका छन्। उनीहरूमध्ये इन्फोटेक नेपाल सेक्युरिटी र गोर्खाली योद्धा सेवामार्फत कार्यरत सुरक्षाकर्मी पनि रहेका छन्।
पावर हाउस र बाँध क्षेत्रमा ठूलो क्षति
भोटेकोशी नदीमा आएको बाढीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढी आउँदा ती क्षेत्रमा ड्युटीमा रहेका कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका हुन्।
हाल बेपत्ता कर्मचारी तथा कामदारको खोजी कार्य भइरहेको छ। साथै आयोजनामा भएको क्षतिको विस्तृत विवरणसमेत संकलन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो। यस आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदै आएको छ।
बेपत्ता कर्मचारी तथा कामदारको नामावली
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाबाट सम्पर्कविहीन हुनेमा विनोद प्रसाद पाण्डे, दिलीप यादव, राजेन्द्र ढकाल, महेन्द्र विक्रम शाही, सन्तोष कुमार ठाकुर, इन्द्र अधिकारी, ओम प्रकाश चौधरी, खेमराज भट्टराई, विकास यादव, रमेश कुमार यादव, विष्णु भण्डारी, आइता तामाङ, सौगरथ यादव, हरि बहादुर बोगटी, रबिना तुल्सीबाख्यो, सञ्जय शाह, रमिला भण्डारी, रोवन पराजुली, सूर्य बहादुर केसी, खगेन्द्र मगराती, नारायण प्रसाद आचार्य, अमरकान्त चौधरी, देव गिरी, सुदीप कुमार श्रेष्ठ, जितेन्द्र कुमार गुप्ता, अस्मिता लामा, कबिर महर्जन, तेज बहादुर जिरेल, जिबलाल अधिकारी, तिल बहादुर राना, कीर्ता सिंह विष्ट, निरज बाबु रेग्मी, श्यामनन्द अधिकारी, राजकुमार भट्टराई, कञ्ची गुरुङ चौधरी, शान्ति माया तामाङ, रामशरण न्यौपाने, झपट बहादुर घर्ती, अस्मिला लामा, हर्क बहादुर तामाङ, मीना शाही, टेक बहादुर तामाङ, रोशनी तामाङ, मिलन तामाङ, कोमन सिंह तामाङ र सुशान तामाङ रहेका छन्।
प्राधिकरणले सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोज तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति कुलमानद्वारा दुःख व्यक्त
-
मेगाटेक हाइड्रोद्वारा विपद् उद्धार कोषमा ५ लाख ५५ हजार सहयोग
-
रसुवाका ५ जलविद्युत् आयोजनामा २०० भन्दा बढी कर्मचारी सम्पर्कविहीन
-
नेप्सेमा लगातार पाँचौँ दिन गिरावट, २५५७ विन्दुमा झर्यो
-
माथिल्लो त्रिशूली–३ ‘ए’ काे पावर हाउस र बाँध क्षेत्रमा कार्यरत ४६ कर्मचारी बेपत्ता (नामावली)
-
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सुचारु