सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

कञ्चनपुरको पुनर्वासमा ३३/११ केभी सबस्टेशन सञ्चालन

जलसरोकार
शुक्रबार, असार ०५, २०८३ | १०:३२:०० बजे

 

काठमाडाैं : नेपाल विद्युत् प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा निर्माण गरेको ३३/११ केभी, ६/८ एमभिए क्षमताको पुनर्वास सबस्टेशन सञ्चालनमा ल्याएको छ। सबस्टेशन सञ्चालनमा आएसँगै बेलौरी वितरण केन्द्रअन्तर्गतका करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार यसअघि सबस्टेशन निर्माणका लागि ठेक्का सम्झौता गरिएको भए पनि सम्बन्धित निर्माण व्यवसायीले सिभिल संरचनाबाहेक आवश्यक इलेक्ट्रोमेकानिकल कार्य सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो।

पुनर्वास क्षेत्रमा लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत् आपूर्तिसम्बन्धी समस्या रहँदै आएको र उपभोक्ताबाट निरन्तर गुनासो आउने गरेपछि तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए । 

उक्त निर्देशनअनुसार बेलौरी वितरण केन्द्रले नेपाल विद्युत् प्राधिकरणका विभिन्न कार्यालयमा रहेका ६/८ एमभिए क्षमताका ट्रान्सफर्मर तथा आवश्यक उपकरणहरूको उपयोग गर्दै बाँकी निर्माण तथा जडान कार्य तीव्र गतिमा सम्पन्न गरेको हो। त्यसपछि सबस्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

कायममुकायम कार्यकारी निर्देशक श्रेष्ठले सबस्टेशन सञ्चालनमा आएसँगै पुनर्वास क्षेत्रका उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न सहज हुने बताउनुभयो। उहाँका अनुसार यसले विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउनुका साथै भविष्यमा बढ्दै जाने विद्युत् माग व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ।

नेपाल विद्युत् प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयको अग्रसरतामा सम्पन्न भएको यो परियोजनाले पुनर्वास क्षेत्रको विद्युत् आपूर्ति प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।

स्थानीय उपभोक्ताले लामो समयदेखि भोग्दै आएको न्यून भोल्टेज तथा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ। सबस्टेशन सञ्चालनसँगै क्षेत्रीय विद्युत् वितरण प्रणाली सुदृढ बन्नुका साथै आगामी वर्षहरूमा बढ्ने विद्युत् माग पूरा गर्न समेत सहज हुने प्राधिकरणको भनाइ छ।

प्रकाशित मिति : शुक्रबार, असार ०५, २०८३ | १०:३२:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया