अन्तरदेशीय प्रसारण लाइनका लागि ३ अर्ब लगानी गरिदै
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना गरिने संयुक्त कम्पनीहरूमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेशन अफ इन्डिया लिमिटेडबीच गठन हुने संयुक्त कम्पनीका लागि आवश्यक लगानी स्रोत सुनिश्चित गरिएको छ ।
मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार नेपालमै स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणले रु एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा रु दुई अर्ब बराबरको स्वपुँजी लगानी गर्नेछ ।
इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली ४०० केभी क्षमताका दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति यसअघि नै दुई देशका उच्च सरकारी अधिकारीबीच भइसकेको हो । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका यी प्रसारण लाइन सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको छ ।
नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रीड कर्पोरेशन अफ इन्डियाको ४९ प्रतिशत सेयर हुनेछ । त्यस्तै, भारतमा स्थापना हुने संयुक्त कम्पनीमा भारतीय पक्षको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ ।
नेपालमा स्थापना हुने कम्पनीमा आवश्यक स्वपुँजी प्राधिकरणको आन्तरिक स्रोतबाट जुटाइनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध गर्ने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारततर्फ लगानीका लागि छुट दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार आवश्यक सूचना राजपत्रमा प्रकाशन गरी सार्वजनिक गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार
-
प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
सानिगाड हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला