२१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
जलसरोकार
बेनी (म्याग्दी),: रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए ।
उनका अनुसार, बाँध, सुरुङ, विद्युत्गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत्गृहमा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारणमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको टावरमा तार तान्ने काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
कुइनेमंगले र चिमखोलाको सीमाक्षेत्र फेदीमा बाँध रहेको यस आयोजनामा सुरुङ र पेनस्टक पाइप हुँदै ल्याइने पानीलाई छरीस्थित रघुगङ्गा नदी किनारमा निर्माण भएको विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने छ । यस आयोजनामा तीन हजार ३८२ मिटर लामो सुरुङ र छ सय ३४ मिटर पेनस्टक टनेल रहेको छ ।
गैरआवासीय नेपाली र नेपालीहरूको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाको लगानी छ । रु तीन अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजनामा सिभिलतर्फ साकुरा पावर÷त्रिपल एस जेभीले ठेक्का लिएको थियोभने इलेक्टोमेकानिकलतर्फको ठेक्का टोयर हाइड्रोले लिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
रामेछापका ७० भन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
नेप्से करिब स्थिर, कारोबार रकम सामान्य वृद्धि
-
नेपाल-कतार संयुक्त व्यवसाय परिषद्को पहिलो बैठक काठमाडौंमा सम्पन्न
-
विद्युत प्राधिकरणको चर्चित रुम नम्बर २२५ : मोदी कम्पनीको अध्यक्षको सचिवालयमा रहने गरी कर्मचारीलाई जिम्मेवारी
-
विद्युत् बिक्री आम्दानी बढेसँगै बुटवल पावरको नाफा २२ करोड ५३ लाख रुपैयाँ, ६ महिनामा १६.२५ प्रतिशतले वृद्धि
-
अपि पावरको नाफा ३६.७५ प्रतिशतले बढ्यो, ६ महिनामा ४२.६२ करोड कमाइ