सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जेन-जी आन्दोलनका शहीद परिवारका १६ सदस्यले पाए नेपाल विद्युत् प्राधिकरणमा जागिर

जलसरोकार
बुधबार, असार ०३, २०८३ | १८:१०:०१ बजे

काठमाडौँ : गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारका १६ सदस्यले नेपाल विद्युत् प्राधिकरणमा करार सेवामा रोजगारी पाएका छन्। सरकार र आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौताअनुसार पहिलो चरणमा उनीहरूलाई शैक्षिक योग्यताका आधारमा प्राधिकरणका विभिन्न कार्यालयमा नियुक्त गरिएको हो।

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत तथा रोजगारी उपलब्ध गराउने सरकारको निर्णयअनुसार उक्त नियुक्ति गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार शहीद परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले पहिलो चरणमा १६ जनालाई करार नियुक्ति दिएको हो। प्राप्त निवेदन र शैक्षिक योग्यताको मूल्याङ्कनपछि उनीहरूलाई पायक पर्ने कार्यालयमा नियुक्त गरिएको बताइएको छ।

सरकार र जेन-जी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता, मन्त्रिपरिषद्बाट स्वीकृत सहायता सम्बन्धी कार्यविधि तथा शहीद परिवारका सदस्यहरूको निवेदनका आधारमा नियुक्ति प्रक्रिया अघि बढाइएको जनाइएको छ। यसअन्तर्गत शहीद परिवारका सदस्यलाई बढीमा तीन तहसम्मको पदमा करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।

स्रोतका अनुसार प्रारम्भिक चरणमा प्राप्त २७ वटा निवेदनमध्ये आवश्यक प्रक्रिया पूरा गरेका १६ जनाले नियुक्ति पाएका हुन्। बाँकी निवेदनमाथि आवश्यक प्रक्रिया जारी रहेको बताइएको छ।

यसबीच पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा पूर्व नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङले उक्त नियुक्तिलाई स्वागत गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले शहीद परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने निर्णय आफ्नो अध्यक्षतामा गत पुस २२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको बताएका छन्।

घिसिङले तत्कालीन अवस्थामा प्राप्त २७ वटा निवेदनका आधारमा शहीद परिवारका सदस्यको पहिचान गरी उनीहरूको शैक्षिक योग्यताअनुसार पायक पर्ने प्राधिकरण कार्यालयमा करार नियुक्ति दिने व्यवस्था गरिएको उल्लेख गरेका छन्। शहीदहरूको बलिदानप्रति सम्मान व्यक्त गर्दै उनले परिवारप्रति राज्यको उत्तरदायित्व निर्वाह गर्ने कार्यमा संलग्न सबैप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : बुधबार, असार ०३, २०८३ | १८:१०:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया