भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै
जलसरोकार
चितवन : भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत निर्माण सम्पन्न भएका ११ केभी क्षमताका भूमिगत केवल तथा ओभरहेड प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) सुरु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि सोमबार बिहानदेखि पहिलो पटक उक्त प्रसारण लाइन चार्ज गरेको हो।
आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब–स्टेसनबाट सुरु हुने विद्युत् लाइन आँपटारी चोक, पोखरा बसपार्क, लिला चोक, पुलचोक, न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका ११ केभी भूमिगत तथा ओभरहेड प्रसारण लाइनमा प्रवाह गरिएको छ।
विद्युत् लाइन पहिलो पटक चार्ज गर्दा सुरक्षा जोखिम हुन सक्ने भएकाले उपभोक्तालाई विशेष सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ। आयोजनाले उक्त क्षेत्रमा रहेका विद्युतीय पोल, ट्रान्सफर्मर, फिडर पिल्लर बक्स तथा अन्य विद्युतीय उपकरण वा संरचनालाई नछुन र सुरक्षित दूरीमा रहन अनुरोध गरेको छ।
त्यसैगरी, भूमिगत केवल बिछ्याइएको मार्गमा पैदल यात्रा वा सवारीसाधन सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन तथा बालबालिकालाई विद्युतीय संरचनाको नजिक जान वा खेल्न नदिन अभिभावकलाई आग्रह गरिएको छ।
आयोजना प्रमुख सुवेदीले चार्ज गरिएको क्षेत्रमा पूर्वस्वीकृतिबिना कुनै पनि प्रकारको उत्खनन, खाल्डो खन्ने वा तार काट्नेजस्ता गतिविधि नगर्न चेतावनी दिए। उनका अनुसार भूमिगत तार बिछ्याउने काम सम्पन्न भएसँगै परीक्षणस्वरूप विद्युत् प्रवाह सुरु गरिएको हो।
प्राधिकरणले भूमिगत विद्युत् प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता बढ्नुका साथै सहरी सौन्दर्य र वितरण प्रणालीको सुरक्षा समेत सुदृढ हुने अपेक्षा गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य