सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन : कुलमान घिसिङ

जलसरोकार
आइतबार, मंसिर २८, २०८२ | ०९:४४:०१ बजे

 

पोखरा: कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन पाँच वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । माघ २०७७ मा २० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि हालसम्म भौतिक प्रगति ५१ प्रतिशतमा मात्र सीमित रहेको छ । तेस्रो पटक थपिएको म्यादसमेत गत साउनमा सकिएको छ ।

शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माण भइरहेको उक्त भवन कर बाहेक रु १० करोड ५५ लाख लागतमा निर्माण गर्न लागिएको हो । तर लामो समयसम्म निर्माण अघि नबढ्दा अस्पतालको सेवा विस्तारमा समस्या परेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गर्दै निर्माणको अवस्थाबारे जानकारी लिएका छन् । अनुगमनका क्रममा उनले महाशाखा प्रमुख, प्रतिष्ठानका उपकुलपति तथा निर्माण व्यवसायीसँग निर्माण प्रगति र समयतालिकाका विषयमा छलफल गरेका थिए ।

जनताको प्रत्यक्ष स्वास्थ्य सेवासँग जोडिएको संवेदनशील संरचना निर्माणमा भएको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै मन्त्री घिसिङले अब निर्माणलाई बन्धक बनाएर राख्न नसकिने बताए । उनले तत्काल काम सुरु नगरे ठेक्का तोडेर निर्माण व्यवसायीलाई कारबाही गर्ने र नयाँ प्रक्रियाबाट निर्माण अघि बढाउने चेतावनी दिए । एक हप्ताभित्र निर्माणले गति नलिए ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छन् ।

यसैगरी, प्रतिष्ठानका उपकुलपति भरत खत्रीले भवन नहुँदा स्वास्थ्य सेवा प्रवाहमा निरन्तर समस्या भइरहेको उल्लेख गर्दै तत्काल निर्माण सम्पन्न गर्नुपर्ने धारणा राखे । निर्माण अघि नबढे ठेक्का तोडी नयाँ प्रक्रियामा जानु अपरिहार्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : आइतबार, मंसिर २८, २०८२ | ०९:४४:०१ बजे

प्रतिक्रिया