सुन्दरीजलमै खानेपानी अभाव : मेलम्चीको पानी राजधानी पुग्छ, स्थानीय भने धाराको लाइनमा
जलसरोकार
काठमाडौँ : काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजल आसपासका बासिन्दा वर्षौंदेखि नियमित खानेपानी सेवाबाट वञ्चित हुँदै आएका छन्। राजधानीमा वितरण गरिने मेलम्चीको पानी सुन्दरीजलमै प्रशोधन हुने भए पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा खानेपानीको समस्या समाधान हुन सकेको छैन।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७.५ किलोमिटर सुरुङमार्फत सुन्दरीजल आइपुग्ने मेलम्चीको पानी प्रशोधन गरेर काठमाडौँ उपत्यकामा वितरण गरिन्छ। साथै वाग्मती नदीको पानीसमेत यहीँबाट प्रशोधन गरी विभिन्न क्षेत्रमा पठाइन्छ। तर पानीको मुहान क्षेत्रका बासिन्दा भने अझै ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामै निर्भर रहन बाध्य छन्।
स्थानीय तथा सङ्घीय जनप्रतिनिधिले वर्षौंदेखि समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि अपेक्षित सुधार हुन नसकेको गुनासो छ। गत साता संसद्को खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित समितिको बैठकमा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानी समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिएका थियो। शनिबार उहाँले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रतिनिधिसँग छलफल गरी स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन दिए ।
कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासकी सावित्री सापकोटाले दैनिक उपभोगका लागि आवश्यक पानी जुटाउन निकै सास्ती खेप्नुपरेको बताउनुभयो। उहाँका अनुसार १० लिटर खानेपानी लिन गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारस्थित सार्वजनिक धारासम्म करिब आधा घण्टा पैदल हिँड्नुपर्छ भने पानी भर्न दुई घण्टासम्म लाइन बस्नुपर्ने अवस्था छ।
सोही वडाका केशवप्रसाद पुडासैनीले विभिन्न खानेपानी आयोजना निर्माण भए पनि दिगो व्यवस्थापनको अभावमा स्थानीयवासी संविधानले सुनिश्चित गरेको स्वच्छ खानेपानीको अधिकारबाट वञ्चित भएको गुनासो गरे ।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आफ्नै बजेटबाट पाइपलाइन विस्तार गरी केयुकेएललाई हस्तान्तरण गरे पनि अपेक्षाअनुसार पानी वितरण हुन नसकेको स्वीकार गरे ।
स्थानीयवासी प्रेम श्रेष्ठका अनुसार सुन्दरीजलस्थित पुरानो वाग्मती पानी प्रशोधन केन्द्र लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीय क्षेत्रमा शुद्ध पानी वितरण प्रभावित भएको छ। उनले केन्द्रको शीघ्र मर्मत गरी नियमित र स्वच्छ खानेपानी उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरे ।
केयुकेएलका प्रबन्ध निर्देशक रामरतन साहले सुन्दरीजल क्षेत्रमा देखिएको समस्या पुरानो वितरण प्रणालीसँग सम्बन्धित रहेको बताउनुभयो। पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनघनत्व धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने विषयमा सांसद पाण्डेसँग सहमति भएको उनले जानकारी दिए ।
यसैबीच, सुन्दरीजलको वाग्मतीतर्फको पुरानो पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्ध क्षेत्रसम्म पुग्ने पानी धमिलो हुने गरेको स्थानीयवासी नोर्साङ शेर्पाले गुनासो गरे । उनका अनुसार यस्तो पानी प्रयोग गर्दा कपडा राम्रोसँग सफा नहुने तथा नुहाएपछि शरीर चिलाउने समस्या देखिने गरेको छ। नागरिक समाजले एक दशकदेखि यो विषय उठाउँदै आए पनि सम्बन्धित निकायबाट प्रभावकारी सुनुवाइ नभएको उनकाे भनाइ छ।
स्थानीयवासीले मुहान क्षेत्रमै बसोबास गर्दा पनि स्वच्छ र नियमित खानेपानीबाट वञ्चित हुनुपरेको भन्दै दीर्घकालीन समाधानको माग गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनामा विपद् प्रतिकार्यको नमुना अभ्यास
-
बूढीगण्डकी बाढीबारे सेनाको प्रतिवेदन : सुक्खा पहिरोले थुनिएको नदी खुलेपछि भीषण बाढी
-
बूढीगण्डकीको बाढी : टाइम्स इनर्जीका १५ संरचना बगायो, १८ कर्मचारीले भागेर जोगाए ज्यान
-
बूढीगण्डकीको बाढीले छ पुल बगायो, कम्तीमा १० जना सम्पर्कविहीन
-
बूढीगण्डकीमा भीषण बाढी : सल्लेरी बजार डुबानमा, ३५ घर बगायो, पुलहरूमा क्षति
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, पहाडी क्षेत्रमा वर्षाको सम्भावना