वीरगञ्जमा खानेपानीको अभाव हुन थालेपछि खानेपानी संस्थानको लाइन जडान गर्ने बढे


काठमाडौं– वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन् । खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण प्रमुख सञ्जीवकुमार यादवले सर्वसाधारणको घरआँगन परिसरमा जोडेको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्नेक्रम ह्वात्तै बढेको जानकारी दिए । “पहिला वीरगञ्जवासीले संस्थानको धारा जडानमा खासै रुचि देखाउँदैन्थे तर अहिले घरमा गाडिएको चापाकलमा पानी आउन छाडेसँगै अहिले संस्थानको धारा जडान गर्न भन्दै आउने गरेका छन्”, उनले भने ।
वितरण प्रमुख यादवले गत आवको असार मसान्तसम्म संस्थानका खानेपानीका ग्राहक आठ हजार चार सय मात्रै रहेका थिए । तर यो हिउँदेयाममा चर्को खडेरी लागेसँगै खानेपानी सस्थानको लाइन जोड्नेको सङ्ख्या बढिरहेको छ । विसं २०८१ असार ६ गतेसम्म संस्थानका खानेपानीका कूल ग्राहक सङ्ख्या ११ हजार दुई सय १० पुगेका छन् । संस्थानले वीरगञ्ज महानगरभित्र दुई सय ८५ सार्वजनिक धारामार्फत खानेपानी पनि उपलब्ध गराउँदै आइरहेको छ ।
प्वाल पारेर पानी चोरी
खानेपानी संस्थान शाखा कार्यालयले वीरगञ्जको छपकैयाँ क्षेत्रमा अवैध ढङ्गले खानेपानीको पाइपमा प्वाल पारेर खानेपानीको चुहावट भइरहेको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेको छ । “वीरगञ्जको छपकैयाँ क्षेत्रमा सर्वसाधारणले खानेपानीको पाइपलाई क्षति पु¥याएर खानेपानी चोरी गरिरहेका छन्”, शाखा प्रबन्धक मन्दिप श्रेष्ठले भने, “खानेपानीको चोरी नियन्त्रण गर्नका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गर्दछु ।” सो क्षेत्रमा दुई सयभन्दा धेरै घरधुरीले खानेपानीको अबैध रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
वितरण प्रमुख यादवले वीरगञ्ज महानगरवासीको चापाकल सुकेसँगै खानेपानी कार्यालयमा नयाँ धारा जडानका लागि आउनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । “चुरे क्षेत्रको विनाशकै कारणले पनि वीरगञ्ज आसपास क्षेत्रको भूमिगत पानीको सतह घट्दै गइरहेकाले पनि खानेपानीकोसमस्या देखिएको हो”, उनले भने । कार्यालयका अनुसार वीरगञ्ज क्षेत्रको खानेपानीको मुख्य स्रोत नै भूमिगत पानी नै हो । अन्य पहाडी जिल्लामा जस्तो यहाँ कुनै नदीबाट पानी ल्याएर वितरण गर्न सक्ने अवस्था छैन ।
खानेपानी संस्थानसँग दैनिक एक करोड ६८ लाख लिटर खानेपानी उत्पादन गर्ने क्षमता रहेको छ । सो क्षमतामध्ये अहिले वीरगञ्ज महानगर क्षेत्रमा एक करोड १५ लाख ५० हजार लिटर पानीको दैनिक माग रहेको छ तर कूल उत्पादन क्षमता भने ४० प्रतिशत खानेपानी चोरी तथा चुहावट हुने गरेको छ ।
कार्यालयसँग साना÷ठूला गरेर डेढ दर्जन खानेपानीका बोरिङ रहेका छन् । तीमध्ये ११ भूमिगतबाट पानी तान्ने ठूला प्रकृतिका बोरिङ रहेका छन् । कार्यालयसँग कम्तीमा पनि वीरगञ्जका २० हजार घरधुरीलाई खानेपानी खुवाउन सक्ने क्षमता छ । तर अहिले पूर्वाधार र बजेट अभावको कारणले सकिरहेको छैन । वितरण प्रमुख यादवले बजेट अभावकै कारणले चाहे जति खानेपानीको पाइपलाइन विस्तार गर्न नसकिरहेको बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' फिर्ता लिन ऊर्जा उद्यमीले पठाए प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस
-
'टेक एण्ड पे' पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
‘फ्लाई ओभर’ ग्वार्कोमा मात्र होइन उपत्यकाका अन्य ठाउँमा पनि बन्छ :प्रधानमन्त्री
-
बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो
-
यस वर्षको मनसुन २३ औं दिनमा देशभर फैलियो
-
लाेडसेडिङले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा