सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महाँकालमा प्रशोधन हुन्छ । दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन् । हिउँदमा यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा वितरण गरिन्छ ।
यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परैजाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ डाँछीका स्थानीय राममाया नगरकोटी खानेपानी लिन गोकर्णेश्वर नगरपालिका वडा नं १ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुःखेसो पोख्छन् । खानेपानी लिनका लागि करिब आधा घण्टाको पैदल यात्रा गरेर जाने र आधा घण्टा पैदल यात्रा गरी आउने एवं कहिले त पानीका लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उनी बताउछन् ।
धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको नगरकोटीको अनुभव छ । यस्तो समस्या भोग्ने नगरकोटी मात्र होइन यहाँका हजारौँको समस्या हो । आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरागरी अर्को कार्यकालको आधा समय बितिसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।
स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ ।
विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने धम्की दिने गरेपनि खानेपानीको समस्या समाधान हुन सकेको छैन । गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विछ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको बताए ।
विसं २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसे २०७४ सालको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । नगर प्रमुख हुँदा उहाँले मुहानवासीले खानेपानी नपाए मेलम्ची र वाग्मतीको पानी सहरमा वितरणका लागि नपठाइ वाग्मतीमा बगाउने चेतावनी दिएका थिए । तर अहिले सुन्दरीजल क्षेत्रकै स्थानीयवासीले खानेपानी नपाउँदा पनि यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद चालिसेले बेवास्ता गरेको स्थानीय घनेन्द्र लामाको गुनासो छ ।
यही क्षेत्रबाट समानुपातिक सांसद निर्वाचित हुनुभएकी शान्ति श्रेष्ठले छ महिनाअघि खानेपानी मन्त्रीलाई दिनुभएको ज्ञापनपत्रमा गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २, ३ र ४ नं वडामा भएको खानेपानी समस्यालाई बेवास्ता गरी वडा नं ५ भन्दा माथिका वडालाई मात्र समेटेकामा स्थानीयवासीको गुनासो छ । जनप्रतिनिधिलाई आफ्नै निर्वाचन क्षेत्रका बारेमा राम्रो ज्ञान नहुँदा पनि स्थानीयवासीले समस्या भोग्नुपरेको गुनासो स्थानीयवासीले गर्न थालेका छन् ।
मेलम्ची खानेपाली राजधानी ल्याउन अवरोध गरेका हेलम्बुवासीसँग सोमबार सम्झौता भएपछि आजदेखि नै पानी राजधानी पथान्तरण हुने खानेपानी मन्त्रालयले जनाएको छ । मेलम्चीको पानी राजधानी आएपछि खानेपानी नपाए आन्दोलनमा उत्रनुको विकल्प नहुने स्थानीय बासिन्दाले बताएका छन् ।
एनएमबि बैंकलाई लैगिंक समावेशी कार्यस्थलको अवार्ड
साताको अन्तिम दिन ०.५७ प्रतिशतले घट्यो सेयर
खाङग्रानाका नागरिकलाई पानीको समस्या
भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोडका सामान हराए
नेपाल-चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता