तार र पोल पुगे पनि नवलपुरका पहाडी गाउँ अझै अँध्यारोमा
जलसरोकार
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : नेपाल विद्युत् प्राधिकरणको प्रसारण संरचना पुगे पनि नवलपुरका पहाडी क्षेत्रका बासिन्दा अझै विद्युत् सेवाबाट वञ्चित रहेका छन्। जिल्लाको बुलिङटार गाउँपालिका अन्तर्गत अर्खला, देउरालीलगायतका गाउँमा तार र पोल जडान भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि विद्युत् वितरण हुन सकेको छैन।
बुलिङटार–४ का वडाध्यक्ष मीनबहादुर आलेका अनुसार अर्खलामा विद्युत् वितरणका सम्पूर्ण पूर्वाधार तयार भए पनि अझै बिजुली बाल्न नपाएको अवस्था छ। देउरालीका स्थानीयले मिटर जडानका लागि शुल्क बुझाइसकेको लामो समय भइसक्दा पनि सेवा सुरु हुन नसकेको उनले बताए ।
नजिकै बोझा पोखरीमा सबस्टेसन सञ्चालनमा आए पनि त्यसबाट ७–८ किलोमिटर टाढाका गाउँ अझै अँध्यारोमा बस्न बाध्य छन्। केही बस्ती लघु जलविद्युत्मा निर्भर छन्, तर त्यसले दैनिक आवश्यकताअनुसार विद्युत् आपूर्ति गर्न सकिरहेको छैन। “लघु जलविद्युत् रातिमा मात्र चल्छ, दिनभरि केन्द्रको तार र पोल हेरेर बस्नु पर्ने अवस्था छ,” वडाध्यक्ष आलेले गुनासो गरे ।
विद्युत् अभावका कारण स्थानीय सेवा प्रवाहमा समेत असर परेको छ। वडा कार्यालयमा सौर्य ऊर्जाको भरमा सेवा दिनुपर्ने अवस्था रहेको र घाम नलाग्दा सेवाग्राहीलाई फर्काउनुपर्ने बाध्यता रहेको उनले बताए ।
कावासोती स्थित विद्युत् वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीका अनुसार ठेकेदारको ढिलासुस्तीका कारण विद्युत् विस्तार प्रभावित भएको हो। ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा सुरु भएको परियोजनामा युनिकर्न कन्स्ट्रक्सन ले पूर्वाधार निर्माणको जिम्मा पाएको भए पनि समयमै काम सम्पन्न नगर्दा समस्या आएको उनले बताए ।
केही स्थानमा पहिरोले पोलमा क्षति पुर्याएको र अहिले बजेट विनियोजन गरी पुनःनिर्माणको काम भइरहेको जनाइएको छ। बाँकी संरचना निर्माण पूरा गरेर देउराली, अर्खला, सिङ्च्याङ हुँदै कालीगण्डकी करिडोरको कोखेटारसम्म छिट्टै विद्युत् पुर्याउने तयारी भइरहेको केन्द्रले जनाएको छ।
“अब छिट्टै काम सकिएर ती गाउँमा बिजुली बल्नेछ,” प्रमुख गोशलीले भने ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा विद्युत् सेवा अवरुद्ध हुन नदिन प्राधिकरणको निर्देशन, २४सै घण्टा तयारी अवस्थामा रहन प्रदेश कार्यालयलाई आग्रह
-
बिजक लिएर खरिद गर्नेलाई उपहार, सरकारले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’
-
सुन प्रतितोला एक हजार र चाँदी ५० रुपैयाँले बढ्यो
-
विद्युत् उत्पादन लक्ष्यमा सरकार असफल, ९४२ मेगावाटको लक्ष्यमा ५६१ मेगावाट मात्र थपियो
-
आर्थिक वर्ष २०८२/८३ मा ३,२११ मेगावाट क्षमताका ९९ जलविद्युत् आयोजनाले पाए सर्वेक्षण अनुमति
-
केही स्थानमा भारी वर्षाको सम्भावना