सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पश्चिमी वायुको प्रभाव बढ्दा देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

जलसरोकार
सोमबार, असोज १९, २०८३ | ०९:११:१३ बजे

 

काठमाडौं : पश्चिमी वायुको प्रभाव बढेसँगै आज देशका अधिकांश भू–भागमा बदली हुनुका साथै विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आज दिउँसो साधारणतया बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भाग तथा देशका बाँकी तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्नेछ। ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। यस्तै, मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान छ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागमा साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा भने आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ।

यसैगरी, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भाग र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। यस्तै, कोशी, मधेश र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको छ।

 

 

प्रकाशित मिति : सोमबार, असोज १९, २०८३ | ०९:११:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया