जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नागरिक लगानी कोषले १३ प्रतिशत बोनस र लाभांस दिने

जलसरोकार
मंगलबार, माघ ०१, २०८१ | १०:२२:५० बजे

काठमाडौं : नागरिक लगानी कोषको ३० औं वार्षिक साधारण सभाले सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) स्वीकृत गरेको छ ।
कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सभाले आ.व २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।
योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको कोषले जानकारी दिएको छ ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.थापाले कोषको कार्यक्रमहरूको थप प्रवद्र्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए । 
कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने उनले जानकारी दिए ।
संगठन तथा व्यवस्थापन (ओ एण्ड एम)  गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत उनले बताए ।
प्रा.डा.थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा व्यक्त गरे ।
साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञासाहरुबारेमा अध्यक्ष प्रा.डा.थापा र कोषका कार्यकारी निर्देशकले जवाफ दिएका थिए । 
कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै सेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा सुझावहरूको बारेमा विस्तृत रुपमा जानकारी गराए ।
कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृृत्रिम बौद्धिकता (ए.आई) को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए ।
हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले सेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांस दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताए ।  
साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०÷८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६१ अर्ब  रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ । 
 

 

प्रकाशित मिति : मंगलबार, माघ ०१, २०८१ | १०:२२:५० बजे

प्रतिक्रिया